प्रियंका चोपडा विश्वकै १०० शक्तिशाली महिलाको सूचीमा

काठमाडौं, २१ कात्तिक –बलिउड नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । प्रियंका ‘फोर्ब्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार समग्र सूचीमा प्रियंका ९७ औं स्थानमा परे पनि मनोरञ्जन र मिडियाको शक्तिशालीको सूचीमा उनी १५ औं स्थानमा छिन् ।

प्रियंका हाल अमेरिकामा आफ्नो टेलिभिजन शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा छिन् । यसबाहेक उनी दुई हलिउड फिल्म ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा पनि देखिँदैछिन् । यसै वर्ष रिलिज भएको हलिउड फिल्म ‘बेवाच’ मा अभिनेता ड्वेन जोनसन द रोकका साथ देखिएकी प्रियंकाले फिल्ममा भिलेनको चरित्र निभाएकी थिइन् ।

उनी सबैभन्दा बढी कमाई गर्ने टेलिभिजन नायिकाको सूचीमा पनि आठौं स्थानमा आएकी छन् । गत वर्ष उनी यो सूचीमा दशौं स्थानमा थिइन् । उनी गत वर्ष बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने नायिकाको ७ औं स्थानमा थिइन् । यो सूचीमा सामेल उनी बलिउडकी पहिलो नायिका हुन् ।

फोर्ब्सको शक्तिशाली महिलाको सूचीमा नम्बर एकमा जर्मन चान्सलर एञ्जेला मार्केल छिन् । यो सूचीमा पप गायिका वियोन्से नोवेल्स ५० औं स्थानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार