उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

काठमाडौं, ४ चैत –  उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिका लागि हिज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि  उपराष्ट्रपतिको जिम्मा नन्दबहादुर पुनलाई नै हुने भएको हो ।

निर्विरोध निर्वाचित भएको अाज घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुहुँदैछ ।  निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए । अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

राष्ट्रपतिका लागि उम्मेदवार उठाएको नेपाली कांग्रेसले उपराष्ट्रपतिका लागि भने उम्मेदवारी दिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार