कांग्रेसका मेयर उपमेयरले स्थानियकर नबढाउने प्रर्तीबद्धता

काठमाडौँ, १२ भदौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ । कांग्रेसले आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको  अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको मर्यादाक्रम पदीय गरिमाअनुरुप नरहेको भन्दै कांग्रेसले उक्त मर्यादाक्रममा तत्काल पुनरावलोकन गरी निर्वाचित प्रतिनिधिको मर्यादा र प्रतिष्ठा कायम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । संविधान र कानूनको अधीनमा रही न्यायोचित, सरल र न्यूनतम कर लगाउने नीतिमा पार्टीको विश्वास रहेको कार्यक्रमपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सिर्जना गरी लगानी र आर्थिक गतिविधि बढाउने र यसमार्फत करको दायरा वृद्धि भई राजश्व बढ्ने प्रस्तावसमेत पारित गरेको छ । केन्द्रीय सरकारले अत्यधिकमात्रामा कर वृद्धि गरेको आरोप लगाउँदै कांग्रेसले तत्काल घटाउनसमेत माग गरेको छ ।

कांग्रेस नेतृत्वको तत्कालीन सरकारद्वारा निर्णय गरिएको सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता, स्वास्थ्यसम्बन्धी सुविधालगायत र भूकम्पपीडितलाई दिने थप सुविधा अविलम्ब लागू गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिपक्षको नेतृत्वमा सर्वदलीय सहभागिता भएको निष्पक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न माग कांग्रेसले गरेको छ । “कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्ताबन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य तत्काल बन्द गर्न माग गर्दै समान वितरणका लागि माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

बैठकले निर्मला पन्तमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधको भत्सर्ना गर्दै अबिलम्व अपराध नियन्त्रण गर्न, अपराधी पक्रन र कारबाही गर्न माग गरेको छ ।

साथै शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरीको गोली लागी बालक सनी खुनाको हत्या भएको घटनाप्रति पनि भत्सर्ना गर्दै मृतक आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाको निन्दा गर्दै घटनामा संलग्न आपराधिक व्यक्तिलाई तत्काल खोजी गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यतया चार वटा विषयवस्तु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्करप्रसाद शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यः न्यायिक र कानूनी पक्ष, पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्ध तथा ध्रुव वाग्ले एवं भीम ढुङ्गानाले कांग्रेसकोतर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कांग्रेसले जीतेका मेयर उपमेयरले स्थानिय स्तरमा जनतालाई मार पर्ने गरि करको वृद्धी नगर्ने समेत कार्यक्रममा प्रतिवद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार