अनलाइन ट्रेडिङमा समस्या : नेप्से भन्छ, ‘सिस्टम चलाउनै जानेनन्’

काठमाडौं २६ कात्तिक – लगानीकर्ताहरुले आफ्नो जानकारी अपडेट नगराएकाले अनलाइन कारोबारमा समस्या देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कसैको नागरिकता नम्बर नभएको, कसैको प्यान नम्बर नभएको जस्ता कारणले लगानीकर्ताको अर्डर सिस्टमले लिन नमानेकाले समस्या आएको बताए ।

उनले भने, ‘आठ हजार लगानीकर्ताको अर्डर सिस्टमले लिने तर अरुको नलिने कसरी हुन्छ ? सिस्टमले अर्डर लिन नमानेका जति आवश्यक जानकारी अपडेट नगराएर हो ।’

उनले केही ठाउँमा देखिएका समस्या समाधानका लागि आफ्ना प्राविधिक टोलीहरु ब्रोकर कहाँ पठाएर समस्या समाधान गरिरहेको पनि बताए ।

‘कतिपयले त सिस्टम चलाउन नै नजानेको पनि देखियो,’ उनले भने ।

यता, अनलाइन टेड्रिङ आएदेखि कारोबार निकै न्युन भएको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल महंगो लागतमा बनाइएको सफ्टवेयरले ५० ब्रोकरको १५० वटा कम्प्यूटरमा पनि काम गर्न नसक्नु बिडम्बना भएको बताउँछन् ।

१२ वर्ष अघिदेखि नै कम्प्यूटरबाट खरिद बिक्रि गर्ने ब्रोकरले अनलाइनबाट खरिदबिक्रि आदेश लिन जानेनन् भन्न नमिल्ने उनको तर्क छ ।

अहिलेको सेयर बजारमा कारोबार न्युन हुनुको कारण यसमा ठूला–ठूला बैंकहरु पनि दोषी रहेको भन्दै उनले भने, ‘स्टयाण्डर्ड चार्टड, एभरेष्ट बैंक, सानिमा बैंक लगायतले घोषणा गरेको न्युन नगद लाभांशले गर्दा पनि लगानीकर्ताको आत्मबल गिरेको छ ।

तर, यता स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट कारोबार कम हुनुमा ब्रोकर दोषी नभई सिस्टममै समस्या भएको बताउँछन् । शुरुको दिनमा लगइन नहुने समस्या थियो भने अहिले अर्डर पोष्ट नहुने समस्या देखिएको छ ।

ब्रोकर र कम्प्यूटर नै पिच्छे फरक फरक समस्या देखिएकाले नेप्सेले जे समस्या देखिएको छ त्यसमा प्राविधिक टोली पठाएर समस्या समाधान गर्ने पहल गरिरहेको छ । रानाभाट विस्तारै समस्याहरु कम हुदै गएको बताउँछन् ।

लामो समयदेखि अनलाइन ट्रेडिङको प्रतिक्षामा रहेका सेयर लगानीकर्ताहरु अनलाइन ट्रेडिङको सञ्चालन पश्चात कारोबारमा देखिएको सूस्तताले निराश भएका छन् ।

लक्ष्मी पुजाको अघिल्लो दिन अर्थमन्त्रीले उद्घाटन गरेको अनलाइन ट्रेडिङले लगानीकर्ता तथा ब्रोकरहरुलाई नै अन्यौलमा पारिदिएको छ ।

गत वर्षको कात्तिक २१ गते नै ल्याउने भनिएको अनलाइन प्रणाली त्यसको एक वर्षपछि सञ्चालनमा आउँदा समेत सिस्टमले राम्ररी काम गर्न सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार