आयोडिन र थाइराइड रोगः बिरामी घट्नुको सट्टा किन बढिरहेका छन् ?

काठमाडौं, १६ फागुन – डा. सुनिल पोखरेल, नेपाल सरकारले दुई दशकअघिदेखि नै नेपालमा आयोडिनको कमीबाट हुने रोग उन्मूलन गर्न दुई बालबालिकाका चिह्न भएको आयोडिनयुक्त नून नै सबै गृहणीहरुले प्रयोग गर्न सल्लाह दिँदै आएको छ । साथै प्रत्येक वर्षको फेब्रुअरी महिनालाई राष्ट्रिय आयोडिन महिनाको रुपमा सर्वसाधारणमा आयोडिनयुक्त नून नै प्रयोग गरौं भनी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

थाइराइड रोग भन्नाले गलगाँड (थाइराइड ग्रन्थि ठूलो हुने), हाइपो थाइराइडिजम (थाइराइड हर्मोन कम बन्ने), हाइपर थाइराइडिजम (थाइराइड हर्मोन बढी बन्ने) र थाइराइड क्यान्सर भन्ने जनाउँछ । यी रोगहरुमा सबैभन्दा बढी देखिने हाइपो थाइराइडिजम नै हो । सामान्यतया जनमानसमा थाइराइड रोग भन्नाले हाइपो थाइराइडिजम भनेर बुझिन्छ ।

आयोडिन एक यस्तो खनिज पदार्थ हो, जुन थाइराइड हर्मोन बन्न चाहिन्छ । हाम्रो शरीरले आयोडिन आफैंले बनाउन नसक्ने हुनाले यो आयोडिन हामीले खानाबाट नै पूर्ति गर्दछौं । आयोडिन प्राकृतिकरुपमा समुद्र र माटोमा पाइन्छ तर हाम्रो देशमा समुद्र छैन । हरेक वर्ष बर्खा याममा बाढीले हाम्रो माटोको आयोडिन बगाएर लग्ने हुनाले हामीले खाने खानाबाट यसको पूर्ति हुन सक्दैन । त्यसैले नेपालमा केही दशकअघि आयोडिनको कमीबाट हुने रोगको प्रकोप विकराल नै थियो ।

हाम्रो शरीरलाई दैनिकरुपमा १५० माइक्रो ग्राम आयोडिनको आवश्यकता पर्दछ । यदि हाम्रो शरीरमा आयोडिनको कमी भएमा थाइराइड ग्रन्थि ठूलो भई गलगाँड आउने, थाइराइड हर्मोन कम बन्न गई हाइपो थाइराइडिजम हुने र गर्भावस्थामा आयोडिनको कमी भएमा सुस्त मनस्थितिका बालबालिका जन्मनेजस्ता समस्या निम्त्याउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् १९७९ मा नेपालमा करिब आधा जनसंख्यामा गलगाँड थियो ।

विश्व स्वास्थ संगठनले सामान्यतया कुनै पनि देश वा स्थानको आयोडिनको पोषण स्थिति थाहा पाउन त्यस स्थानको विद्यालय जाने बालबालिकाकोे पिसाबमा आयोडिनको मात्रा जाचँ गर्दा यदि १०० माइक्रो ग्राम प्रतिलिटरभन्दा कम भएमा आयोडिनको कमी, १०० देखि १९९ माइक्रो ग्राम प्रतिलिटर भएमा पर्याप्त, २०० देखि २९९ माइक्रो ग्राम प्रतिलिटर भएमा अलिक बढी र ३०० भन्दा माथि भएमा अत्यधिक भनी मूल्यांकन गरेको छ ।

सन् १९९८ को नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा विद्यालय जाने बालबालिकामा करिब ४० दशमलव ५ प्रतिशतमा गलगाँड र करिब ३५ दशमलव १ प्रतिशतमा पिसाबमा आयोडिनको कमी देखिएको थियो । नेपाल सरकारले यी कुरालाई मनन गरी २०५५ सालमा नेपालभरि दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नून मात्र प्रयोग गर्ने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन भएपछि सन् २००७ को सरकारी तथ्यांकले नेपालमा बालबालिकाको पिसाबमा आयोडिनको मात्रा २०२ माइक्रो ग्राम प्रतिलिटर भएको देखायो, जुन विश्व स्वास्थ्य संगठनको मूल्यांकनअन्तर्गत अलि धेरै हो ।

हामी दुई–तीन दशकअघि आयोडिनको कमी भएको देशबाट अहिले आयोडिन अलि बढी वा अत्यधिक भएको देशमा त पुग्यौं । तर सरकारको आधिकारिक तथ्यांक नभए पनि नेपालमा थाइराइड रोगका बिरामीको संख्यामा कमी भएको देखिएको छैन, बरु झनै बढिरहेको पाइएको छ । यस विषयमा सरकारले अविलम्ब सोच्नुपर्ने देखिन्छ ।

सन् २०११ मा नेपाल सरकारले गरेको अर्को अध्ययनमा ९५ प्रतिशतभन्दा बढी घरमा आयोडिनयुक्त नूनको प्रयोग भएको पाइयो । त्यसै गरी सन् २०१६ को सरकारको तथ्यांकअनुसार मध्यमाञ्चल विकास क्षेत्रका ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा आयोडिनको मात्रा ३८७ दशमलव ९ माइक्रो ग्राम प्रतिलिटर देखियो भने सम्पूर्ण नेपालका ६ देखि ९ वर्षका बालबालिकामा यो मात्रा ३१४/१ देखियो । यसै गरी गर्भवती महिलाहरुमा यो २४१ दशमलव ३ देखियो भने १५ देखि ४९ वर्षका महिलामा यो २८६ दशमलव २५ देखियो, जुन विश्व स्वास्स्य संगठनको मापदण्डअनुसार अत्यधिक बढी हो ।

हामी दुई–तीन दशकअघि आयोडिनको कमी भएको देशबाट अहिले आयोडिन अलि बढी वा अत्यधिक भएको देशमा त पुग्यौं । तर सरकारको आधिकारिक तथ्यांक नभए पनि नेपालमा थाइराइड रोगका बिरामीको संख्यामा कमी भएको देखिएको छैन, बरु झनै बढिरहेको पाइएको छ । यस विषयमा सरकारले अविलम्ब सोच्नुपर्ने देखिन्छ ।

विश्वका अन्य देशहरुमा गरिएको विभिन्न अध्ययन–अनुसन्धानले के देखाएको छ भने, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पिसाबमा आयोडिनको मात्रा १०० माइक्रो ग्राम प्रतिलिटरको हाराहारीमा हुँदा त्यस जनसंख्यामा थाइराइड रोगको प्रकोप सबैभन्दा कम देखिन्छ । यदि कुनै जनसंख्यामा पिसाबमा आयोडिनको मात्रा यो भन्दा कम भएमा गलगाँड र हाइपो थाइराइडिजम रोगको प्रकोप बढ्दै जान्छ ।

यदि कुनै जनसंख्यामा आयोडिनको मात्रा बढी भएमा पनि त्यसले थाइराइडको अटोइम्मुनिटीलाई बढाई हाइपो थाइराइडिजम हुने (अटोइम्मुनिटीले थाइराइडका कोशिकाहरुलाई मारेर थाइराइड हर्मोन कम बन्ने हुन्छ), गलगाँड आउने र हाइपर थाइराइडिजम ९आयोडिन धेरै हुँदा थाइराइड हर्मोन धेरै बन्ने० गराउँंछ भने थाइराइड क्यान्सरको प्रकोप पनि बढाउँछ ।

चीनमा गरिएको एक अध्ययनले के देखाएको छ भने, आयोडिनको कमी भएको क्षेत्रमा यदि केही वर्षपछि गएर आयोडिनको मात्रा बढी हुन गएमा त्यस क्षेत्रमा थाइराइडको अटोइम्मुनिटी बढ्न गई हाइपो थाइराइडिजमको बिरामीको संख्यामा झनै वृद्धि भयो ।

त्यस्तै ग्रिसमा गरिएको एक अध्ययनमा ग्रिसमा आयोडिनको कमीमा उन्मूलन गरिएपछि स्कुले बालबालिकामा थाइराइडको अटोइम्मुनिटी तीन गुणाले बढ्यो । यो थाइराइडको अटोइम्मुनिटी नै भविष्यमा गएर हाइपोथाइराइडिजम हुने, गलगाँड हुने प्रमुख कारण हो । जपानमा गरिएको अर्को अध्ययनले पनि आयोडिनको मात्रा बढी भएको शहरमा, आयोडिनको मात्रा पर्याप्त भएको शहरमा भन्दा थाइराइड रोगको प्रकोप बढी देखियो ।

त्यसैले हरेक देशले ३ देखि ५ वर्षको समयमा आफ्नो जनसंख्याको आयोडिनको मात्राको जाँंच गरी त्यसै अनुसार आफ्नो नीतिमा परिवर्तन गर्दछ । त्यसैले चीन सरकारले सन् १९९४ मा आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्ने नीति लागू गर्दा १ किलो नूनमा ५० मिलिग्राम आयोडिनको मात्रा प्रयोग गरेको थियो भने पछि गएर पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००० मा यो मात्रा घटाएर ३० देखि ५० मिलिग्राममा परिणत ग¥यो ।

यसै गरी फेरि सन् २०१० मा यो मात्रा घटाएर २० देखि ३० मिलिग्राम आयोडिन प्रतिकिलोमा परिणत गरेको छ । ब्राजिल सरकारले पनि आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्ने नीति लागू गर्दा १ किलो नूनमा ४० देखि ६० मिलिग्राम आयोडिनको मात्रा प्रयोग गरेको थियो भने पछि गएर पिसाबमा आयोडिनको मात्राअनुसार सन् २००३ र सन् २०१३ मा गरी दुईपटक परिवर्तन गरी हाल १५ देखि ४५ मिलिग्राम आयोडिन प्रतिकिलोमा कायम गरेको छ ।

नेपाल सरकारले पनि २०५५ सालमा आयोडिनयुक्त नून मात्र प्रयोग गर्ने नीति लागू गर्दा के मान्यता राखेको थियो भने, कारखानामा १ किलो नूनमा ५० मिलिग्राम आयोडिनको प्रयोग गर्दा सो नून ढुवानी गरी पसल–पसलमा पुग्दा त्यसमा भएकोे आयोडिन केही मात्रा नस्ट भई कम्तीमा पनि ३० मिलिग्राम जति आयोडिन बाँकी रहने र यही नून घर–घरसम्म पुग्दा कम्तीमा पनि १५ मिलिग्राम आयोडिन बाँकी हुने र त्यस बेला नेपाली नागरिकले प्रत्येक दिन करिब १० ग्राम नूनको सेवन गर्ने हिसाबले प्रत्येक नागरिकलाई दैनिकरुपमा चाहिने १५० मिलिग्रामको आयोडिनको मात्रा पुग्छ । तर सन् २०१६ को नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा आयोडिनको कमी कुनै पनि क्षेत्रमा छैन ।

त्यही अध्ययनलाई आधार मान्ने हो भने, नेपालमा ६ देखि ९ वर्षका बालबालिकामा आयोडिनको मात्रा अत्यधिक छ । गर्भवती महिला अनि व्ययष्क महिलामा पनि आयोडिनको मात्रा अलिक बढी छ । यही अध्ययनमा घर–घरमा पुगी नूनमा आयोडिनको मात्रा जाँच गर्दा ४४ दशमलव २ मिलिग्राम प्रतिकिलो देखियो ।

त्यसैले नेपाल सरकारले पनि यससम्बन्धी अध्ययन–अनुसन्धान गरेर यो दुई दशक पुरानो नीतिलाई पूर्ण मूल्यांकन गर्ने पो हो कि रु त्यस बेलासम्म हामी नेपालीले विश्व स्वास्थ्य संगठनको सल्लाहबमोजिम दैनिक सेवन गर्ने आयोडिनयुक्त नूनको मात्रामा कमी गरी ५ ग्राम प्रतिदिनमा सीमित गरेर यस थाइराइड रोगको प्रकोपबाट बच्ने कि ?

(लेखक डा. पोखरेल मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ हुनुहुन्छ ।)- नेपाल समाचारपत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार