काठमाडौं, ५ जेठ – व्यवस्थापिका–संसद्को चालु दोस्रो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई बिहीबारको बैठकमा सभामुखले प्रस्तुत गर्दै अधिवेशनको अन्त्य गराइएको हो । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले सोबारे निर्णय गरेको हाे । बिहीबारको बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा भएका कामको विवरण प्रस्तुत गरेकी थिइन् ।
सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण साबित भएको बताइन् । उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरिन् ।
सभामुख घर्तीले संसद्को चालु अधिवेशनमा विभिन्न सांसद कारणवश विभिन्न मितिमा अनुपस्थित भएको सूचना प्रस्तुत गरेकामा बैठकले स्वीकृति दिएको छ । संसदको चालु अधिवेशन अन्त्य भएपछि अब बजेट अधिवेशन सुरु हुनेछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन बोलाउने नियम छ ।
संविधानको धारा २ सय ९६ को उपधारा ३ बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नुपर्दछ । बजेट अधिवेशनले बजेट तयार गरेर संविधानले तोकेको मिति जेठ १५ मा संघीय नेपालको बजेट प्रस्तुत गर्नुपर्दछ ।