फर्जी मत भेटिएपछि पोखरामा मतगणना अबरुद्ध, दलहरुबीच चर्काचर्की

पोखरा, ७ जेठ – फर्जी मत भेटिएको विवादका कारण स्थगित पोखरा लेखनाथ महानगरको मतगणना विचमै अबरुद्ध भएको छ । वडा नम्बर १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको भन्दै एमाले बाहेकका दलले विरोध जनाएपछि महानगरका अन्य वडाको मतगणना पनि अबरुद्ध भएको हो ।

Officials from the election commission count votes a day after the local election of municipalities and villages representatives in Kathmandu, Nepal May 15, 2017. REUTERS/Navesh Chitrakar

शनिवार दिउँसो साढे ४ बजे १४०० मतको प्रारम्भिक परिणाम सार्वजनिक भैसकेपछि एमालेको चुनाव चिन्हमा फर्जी छाप सहितको प्यानल मत भेटिएको भन्दै कांग्रेस प्रतिनिधि बाहिरिएका थिए । त्यस लगतै १७ नम्बर वडाको मतगणना स्थगित भएकोमा साँझ साढे ५ बजेपछि अन्य वडाको पनि रोकिएको हो ।

कांग्रेस र माओबादीले फर्जी मतको छानविन नभएसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान लिएपछि सहमतिका लागि साझ बसेको सर्वदलिय बैंठक पनि विनानिश्कर्ष सकिएको छ । बैंठकमा एमाले विवादित वडाको मतगणना स्थगित गरी अन्यको सुरु गर्न सहमत भएपनि कांग्रेस नमानेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए । कांग्रेसले निहुँ खोज्नका लागि विवाद सुरु गरेको उनले आरोप लगाए ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले मतदानको क्रममा प्रयोग हुने स्वस्तिक छाप ठूला र सानो दुई प्रकारको आयोगबाटै आएको पुष्टी भए वा अन्य दलको मतमा पनि सोहि प्रकारको छाप प्रयोग गरेको भेटिएमा तत्काल मतगणना सुरु गर्न आफुहरु तयार रहेको बताए ।

सुनियोजित रुपमा कांग्रेसलाई हराउने खेल अनुसार फर्जी मतको प्रयोग भएको हुन सक्ने कांग्रेसको आशंका छ । मतगणनाको क्रममा भेटिएको त्रुटीबारे चित्तबुझ्दो जवाफ नआएसम्म अन्य वडाको पनि मतगणना सुरु हुन नदिने केसीले बताए । मतगणना प्रभावित भएको सहमतिको लागि भन्दै बसेको बैंठक शनिबार राती १० बजे सकिएको हो ।

२ घण्टासम्म बसेको बैंठकमा कांग्रेस र एमालेका नेताहरु चर्काचर्की गर्दै एक अर्कोलाई आरोप लगाएका थिए । यद्यपी आज विहान पुन बैंठक बस्ने सहमति भएको छ । निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग सहमति गरी मतगणना सुरु गर्ने प्रयास जारी रहेको बताए ।

उनले फर्जी मत नभएको जिकिर गरेका छन् । फर्जी भनिएको मतपत्रमा साविकको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले स्विकारेका छन् । १५ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भई अन्य चार वडाको मतगणना चलिरहेका बेला वडानम्बर १७ को मतपत्रमा त्रुटी भेटिएको थियो ।

सूर्य चिन्हमा फरक रंग र फरक स्वस्तिक छाप सहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि मतगणना स्थगित गर्न माग गरिएको मतगणनामा खटिएका कांग्रेस प्रतिनिधि युवक लामिछानेले बताए । फर्जी मत बारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य वाहिर आएपछि मात्रै मतगणना सुरु गर्नुपर्ने कांग्रेसको माग छ ।

साथै एमाले बाहेकका दलले विवादित वडामा पुनस् निर्वाचनको माग समेत गरेका छन् । ३३ वडा रहेको पोखरा लेखनाथ महानगरमा कुल खसेको मतको जम्मा ३८ प्रतिशत मात्रै मत गणना सकिदा विवाद उत्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार