प्रधानमन्त्रीकाे राजीनामाबारे हेडक्वार्टरमा छलफल

काठमाण्डौ ८,जेठ- सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो समझदारीअनुरूप सत्ता छाड्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाबारे उनकै दल माओवादी केन्द्रको हेडक्वार्टरले टुंगो लगाउने भएको छ ।

सोमबार बिहान बस्ने पार्टी बैठकले यसबारे निर्णय लिने जानकारी हेडक्वार्टर सदस्य मणि थापाले दिए । आइतबार दिउँसो ३ बजेलाई हेडक्वार्टर बैठक तोकिए पनि दाहाल जनकपुरबाट फर्कन ढिलो हुँदा सोमबारलाई सरेको हो । दाहालले सोमबार संसद्लाई सम्बोधन गरेर राजीनामा दिने उनी निकट स्रोतले यसअघि जानकारी दिए पनि सोमबार राजीनामा आउने सम्भावना कम रहेको थापाले बताए ।

‘पहिलो चरणको चुनाव सफलतापूर्वक सम्पन्न भइसकेपछि सरकार छाड्ने पूर्वसमझदारीअनुसार प्रधानमन्त्रीले राजीनामा दिने मनस्थिति बनाउनुभएको हो, तर भोलि नै दिने सम्भावना कम छ,’ थापाले भने, ‘यसबारे हामी सोमबार बिहान हेडक्वार्टरमा एजेन्डाका रूपमा छलफल गरेर टुंगो लगाउने छौं । निर्णय पार्टीले नै गर्छ ।’

माओवादीका केही नेताले भने एउटा चुनाव दुई प्रधानमन्त्रीले गर्न नहुने भन्दै यसै महिना हुने अर्को चरणका लागि नयाँ प्रधानमन्त्री आउनु उचित नहुने तर्क गरिरहेको स्रोतले जनायो । ती नेताहरूले दुवै चरणको चुनाव सकेर बजेट पेस गरेसँगै दाहाल बिदा हुनुपर्ने, त्यस बेलासम्म देउवाले पर्खनुपर्ने तर्क गरिरहेको स्रोतको दाबी छ ।

हेडक्वार्टरका अर्का सदस्य अग्निप्रसाद सापकोटाले सोमबार दाहालको राजीनामा आउने चर्चा यसअघि चले पनि त्यसको सम्भावना कम रहेको बताए । प्रधानमन्त्री दाहाल आइतबार दिनभर व्यस्त रहेकाले राजीनामाको समय र प्रक्रियाबारे राम्ररी कुरा हुन नपाएको भन्दै सापकोटाले सोमबार राजीनामा नआउने सम्भावना खुलाए । ‘आइतबार प्रधानमन्त्रीज्यू ढिलो काठमाडौं आइपुग्नुभएकाले पार्टी नेताहरूसँग छोटोमा कुराकानी मात्रै भयो, यथार्थमा बैठक बसेन भन्दा पनि हुन्छ,’ सापकोटाले भने, ‘राजीनामा नदिने भन्ने छैन, दिने नै हो । भोलि नै आउने सम्भावना अलि कम छ ।’

प्रधानमन्त्री दाहालले नेताहरूसँग संक्षिप्त भेटमा स्थानीय तहको संख्या थप्नेबारे आफूले निर्णय लिन लागेको बताएका थिए । प्रतिपक्षी एमाले नेता केपी ओलीले पनि ‘२० भन्दा बढी संख्या थप्न नहुने’ भन्दै घुमाउरो तरिकाले मधेसका केही जिल्लामा जनसंख्यालाई केन्द्रविन्दु मान्दै स्थानीय तहको संख्या बढाउन स्वीकृति दिएको पनि दाहालले खुलासा गरे । ‘यसबारे मेरो ओलीजीसँग कुरा भइसकेको छ, स्थानीय तहको संख्या केही बढाएर मधेसी दललाई चुनावमा ल्याउनु ठीकै हुने राय दिनुभयो,’ दाहाललाई उद्धृत गर्दै माओवादी एक नेताले भने, ‘तर २० भन्दा बढीचाहिँ थप्न पाइन्न है भनेर उहाँले भनिसकेपछि मैले कुरो बुझिहालें । अब राजपा चुनावमा आउँछ । त्यसो हुँदा मेरो मिसन पनि सफल हुन्छ ।’

दाहालले राजपालाई चुनावमा आएर संविधान कार्यान्वयन गर्नेबारे जिम्मेवार हुन आफूले आग्रह गरेपछि अब परिस्थिति बदलिएको पनि सुनाएका थिए । उनले मधेस थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, गिरफ्तारको रिहाइ, सहिद घोषणा, घाइतेलाई क्षतिपूर्तिजस्ता निर्णय लिइसकेकाले अब दोस्रो चरणको चुनाव हुनेमा आशंका नगर्न पनि नेताहरूलाई आग्रह गरे ।

यो खबर कान्तिपुर पत्रिकामा प्रकाशित रहको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार