विराटनगर र वीरगन्ज महानगर हुने , तराईका जिल्लामा २३ वटा स्थानीय तह थपिए

जेठ ३१ गतेको चुनाव सार्ने स‌ङकेत , प्रधानमन्त्री प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी

काठमाडौं ९ जेठ-  सरकारले तराई मधेसमा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २२ वटा गाउँपालिका थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले विराटनगर र वीरगञ्जलाई उपमहानगरबाट महानगर बनाउने निर्णय गरेको बैठकमा सहभागि सहकारी मन्त्री हृदयराम थानीले  बताएका छन् । उनले भने, ‘थप्ने भनिएको जम्मा २३ हो । एउटा पर्सा नगरपालिकामा गाभिएको छ । दुई उपमहानगर महानगर भए । मन्त्रि परिषदको यो निर्णयसँगै महानगरको संख्या ६ पुगेको छ भने, २२ वटा गाउँपालिका थप भएका छन् ।

बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ ।

यस्तै, वैठकले  साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । जसअनुसार झापामा २, सिरहामा १, रौतहटमा ११, धनुषामा १, बारामा १, रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि बैठकले गरेको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको कार्यदलले संख्या थप र स्तरोन्नतिको प्रस्ताव तयार गरेको थियो ।

थपिएको स्थानीय तहमा अर्को चरणमा चुनाव गर्नु पर्ने, नभए चुनाव सार्नु पर्ने  
थपिएका स्थानीय तहमा जेठ ३१ गते चुनाव नहुने भएको छ । चार प्रदेशका सबै स्थानीय तहमा एकै पटक चुनाव गर्नु पर्ने भए चुनावको मिति सार्नु पर्ने देखिएको छ ।

निर्वाचन आयोगले सरकारलाई एकै चरणमा थप भएकासहितका स्थानीय तहको चुनाव गर्ने भए चुनावको मिति सार्नुपर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ । जेठ ३१ गतेको चुनाव नसारे थपिएको स्थानीय तहको चुनाव पछि गर्नुपर्ने आयोगको धारणा छ । जेठ ३१ मा चुनाव गरे सीमाना जोडिएका र गाभिएका स्थानीय तहले चुनावलाई प्रभाव पार्ने बताइँदै छ ।

बैठकका अन्य निर्णय
बैठकले म्यादी प्रहरीको समयअवधि दोस्रो चरणको निर्वाचन सम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ । बैठकले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको राष्ट्रिय कार्ययोजना अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानूनका सहसचिव कौशलचन्द्र सुवेदीलाई नियुक्त गरेको छ ।

बैठकले नेपाल पशु चिकित्सा परिषदको अध्यक्षमा डा। सीताराम अर्याल, सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ र रजिष्टारमा डा.नारायण प्रसाद घिमिरेलाई नियुक्त गरिएको छ । त्यसरी नै दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा रघुनाथ गौतम नियुक्त गरिएको र भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

मधेसी मोर्चामा आबद्ध दलहरुले थप कुनै नयाँ माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् । मंगलबार संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमति अनुसार राजीनामा दिन लागेको खबर पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार