आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं ११, जेठ — सरकारले बिहीबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने भएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत राष्ट्रपतिलाई जाउलाखेलमा भोटो देखाइने भएकाले सार्वजनिक विदा दिइने भएको हो।

वैशाख १७ गते पुल्चोकबाट सुरु भएको रथयात्रा पाटन क्षेत्रका विभिन्न नगर र टोल हुँदै सोमबार बेलुकी जाउलाखेल पुगेको थियो। रथ जाउलाखेल पुर्या एको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाउने परम्परा छ।

साइत हेरेर रथलाई जाउलाखेल पुर्‍याइएको हो। जाउलाखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइसकेपछि भोलि नै रातो मच्छिन्द्रनाथको रथलाई बुङमती पुर्योइनेछ। रातो मच्छिन्द्रनाथको रथलाई ६ महिना पाटन र ६ महिना बुङमतीमा राख्ने गरिन्छ।

राजपत्रमा सूचना जारी भइसकेकाले गृह मन्त्रालयले बिहीबारको विदाको सूचना जारी नगरेको गृह प्रवक्ताले जानकारी दिए। ‘भोटोजात्रामा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने विषय राजपत्रमै उल्लेख भइसकेकाले गृहले सार्वजनिक सूचना जारी नगरेको हो’, गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताएका छन् ।  तिथि र साइतअनुसार भोटो देखाइने हुनाले विदाका लागि राजपत्रमा निश्चित मिति तोकिएको छैन। साइतअनुसार मिति तलमाथि हुने हुँदा त्यसो गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार