गुरुङ फिल्लका चर्चित हिरो बने कास्की मादीकाे गाउँपालिका प्रमुख

पोखरा ११ जेठ – गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) का अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) चलचित्र ‘ठेलोे’ निर्माण तयारीमा जुटेका थिए ।

स्थानीय तहको निर्वाचन हुने कि नहुने भन्ने अन्यौलमै रहेको बेला उनले नयाँ चलचित्रको काम थाल्दै थिए । जब निर्वाचनको मिति घोषणा भयो, उनलाई एमालेले मादी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

जब चुनाव सकियो, उनी उम्मेदवार मात्र भएनन्, ४ हजार ६ सय ३७ मत ल्याएर अध्यक्षमा निर्वाचित नै भए । उनले निर्वाचित भएपछि जिफानको जिम्मा उपाध्यक्ष राजबहादुर गुरुङलाई कार्यवाहक अध्यक्षको रुपमा सुम्पिए । गुरुङ भाषा र सस्कृतिमा आधारित चलचित्रमा अभिनयदेखि निर्देशनसम्म गरेका ४७ वर्षीय श्याम भन्छन्, ‘भाषाभाषीको संरक्षण गर्नुपर्छ भनेर फिल्मबाट सन्देश दिएँ ।”

गुरुङ भाषा र संस्कृतिमा आधारित चलचित्र निर्माण हुन थालेको झण्डै २ दशक पुगेको छ । २०५२ सालतिर गुरुङ भाषामा चलचित्र बन्न थालेपछि उनी यतै आकर्षित भएका थिए । ‘नाम्चेतोरी (कुहिरो भित्र)’ हुँदै ‘इम्पो देउराली’ सम्मका गुरुङ भाषाका फिल्ममा उनको अभिनय देख्न पाइन्छ । उनले ८ वटा गुरुङ फिल्ममा लेखन तथा निर्देशन गरेका छन् भने त्यतिनै फिल्ममा अभिनय समेत गरिसकेका छन् ।

श्यामको राजनीतिक यात्रा भने यो पहिलो होइन । २०४३ सालमा कक्षा ८ मा पढ्दा उनले अखिल पाँचौमा प्रवेश गरी राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि २०४७ सालमा उनी पृथ्वीनारायण क्याम्पसमा अखिल जिल्ला कमिटि कास्कीका सदस्य चुनिए ।

अहिलेको युवा संघ तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको कास्की जिल्ला कमिटी सदस्य भएर एक कार्यकाल पूरा गरेका थिए । त्यसलगत्तै उनी गाउँ, इलाका सदस्य सचिव हुँदै क्षेत्रीय कमिटी सदस्यमा फड्को मारी राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भए । उनी हाल एमालेको प्रदेश नम्बर ४ को संगठन कमिटि सदस्य समेत हुन् ।

गाउँपालिका प्रमुख बनेसँगै उनले बिहीबार निर्वाचन अधिकृत गुरुदत्त ढकालसँग सपथ लिए । सपथपछि उनले प्रतिक्रिया दिए, ‘देश र जनताको इमान्दार पूर्वक सेवा गर्नु नै मेरो कर्तव्य हो ।’ विकासका पूर्वाधार निर्माण र नीतिनियम बनाई जनताको जीवनस्तर उठाउने काममा लागि पर्ने उनले अठोट गरेका छन् ।

५-५ वर्षमा हुनुपर्ने स्थानीय निर्वाचन २ दशक पछि भयो । उनी यो २ दशक भाषा संस्कृतिको संरक्षणमा बिताए । सपथ लिएपछि उनले भने, ‘अब ५ वर्ष गाउँको सेवामा जुट्छु ।’ त्यसपछि पुन फिल्मी क्षेत्रमै फर्कने उनको सोख भने जिवितै छ । समाधान दैनिकमा याे खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार