साउदीबाट ‘मृतक’ फर्किएपछी…

काठमाण्डौ १३ जेठ- करिब तीन वर्षअघि सुवास साउदी अरेबियाको जेदा सहरनजिकै सडक दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका अर्कैको शव सुवासको भनेर नेपाल पठाइएको थियो । उनले भने त्यसपछि आफ्नो आगत–विगत भुलेका थिए ।

‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै मरेको भन्दै साउदी अरेबिया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव पठाएका थिए,’ विमानस्थलमा दाजुलाई लिन आएका भाइ अम्बर तामाङले भने, ‘शव क्षतविक्षत भएकाले पहिचानका लागि बढी खोजतलास गरिएन । विश्वासका भरमा दाजुको अन्तिम संस्कार गरेका थियौं ।’

त्यतिबेलै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो ।
९ जुलाई २०१५ मा भएको ट्याक्सी दुर्घटनामा घटनास्थलमै ३ र भोलिपल्ट अस्पतालमा एक नेपाली कामदारको मृत्यु भएको थियो । एक कामदारको भने ‘अनुहार चिनिनै नसक्ने अवस्थामा’ अस्पतालमा उपचार भइरहेको थियो । ती उपचार भइरहेका व्यक्ति ट्याक्सीका चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने ‘प्रारम्भिक रिपोर्ट’ भए पनि वास्तवमा तिनै सुवास रहेछन् ।

मृतक चारै जना हुन्डाई कम्पनीका कामदार थिए । दुर्घटनामा बुद्धलाल वाइबा (सिन्धुली), विष्णुबहादुर राना मगर (रूपन्देही) र रिदीबहादुर मगर (चितवन) को घटनास्थलमै मृत्यु भएको थियो ।

‘होस खुलेपछि आफ्नो नाम, बाबु हर्कबहादुरको नाम र भोजपुर जिल्ला भनेर भनेको रहेछु,’ धेरै कुरा सम्झन नसक्ने अवस्थामा पुगेका सुवासले सुनाए, ‘त्यहींबाट म सुवास तामाङ बाँचेको कुरा यहाँ बाबु, श्रीमतीले थाहा पाएका रहेछन् ।’ तामाङलाई काठमाडौंमा आफन्तको जिम्मा लगाउन भनेर जेदास्थित हुन्डाई कन्स्ट्रक्सन कम्पनीले अर्का कामदार शेरबहादुर चौलागाईंलाई पनि साथैमा पठाएको छ । चौलागाईंका अनुसार अहिले साउदी अरेबियामा कामदार घरफिर्तीमा आममाफी (एम्नेस्टी) दिइरहेका बेला पनि सुवासलाई नेपाल फर्काउन त्यति कठिनाइ भएन । सुवासको उपचारमा मात्रै हुन्डाई कम्पनीले झन्डै १ लाख रियाल खर्च गरेको र अहिलेसम्मको तलबसमेत दिएर पठाएको उनले जानकारी दिए ।

तामाङको क्षतविक्षत अनुहार टाल्न तिघ्रा र अन्य भागको मासु भरिएको थियो । झन्डै ३ महिना सघन उपचारमा राखिएका सुवास अहिले पनि बेलाबेला हाँस्ने र रुने गर्छन् ।तेजेन्द्रको मृत्यु भएको पुष्टि भएपछि मृतकका परिवार क्षतिपूर्ति र न्यायिक प्रक्रियामा परराष्ट्रको कन्सुलर विभागमार्फत सक्रिय छ । सुवासलाई घरफिर्ती गराउन र तेजेन्द्रको परिवारलाई न्याय दिलाउन लागिपरेको सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स (सीएमआईआर) का अनुसार हुन्डाई कम्पनीले मृतक तेजेन्द्रको परिवारलाई पनि १५ हजार रियाल राहत रकम दिने भएको छ ।

‘तर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र बिमा कम्पनीबाट सुवासको परिवारले मृतक नाममा लिएको क्षतिपूर्ति रकमको प्रक्रियाबारे के हुने हो, यसै भन्न सकिन्न,’ सीएमआईआर प्रतिनिधि वसन्त घिमिरेले भने ।

यो खबर कान्तिपुर मा रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार