चितवन १५ , जेठ – भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको आरोपसमेत उनले लगाए ।
मतगणनास्थल कभर्डहलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै ज्ञवालीले भने, ‘हार्ने निश्चित भइसकेपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको छ र राज्यसत्ताको दुरुपयोग गरिएको छ ।’ माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका एमालेको आरोप छ । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।
माओवादी उम्मेदवार रेणु दाहालले देबी ज्ञवालीसँगको मतअन्तर घटाउँदै लगेकी थिइन् । १९ नम्बर वडाको मतगणना भइरहेको बेला देबी रेणु भन्दा ३ सय मतअन्तरले पछाडि थिइन् । मध्यरातमा मतपत्र च्यातिएपछि स्थिति तनावपूर्ण भएको थियो । यो घटनापछि मतगणनाको वातावरण विग्रिएको भन्दै निर्वाचन अधिकृतले पनि मतगणना अनिश्चितकालसम्मका लागि स्थगित भएको घोषणा गरेका छन् । भने प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘मतपत्र च्यातेर मतगणनास्थल रणभूमि बनाइयो,’ उनले संवाददाताहरुसित भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’