तीन दलका वडाध्यक्ष उम्मेदवार तीनै दाजुभाइः नाम पनि एउटै

अछाम १६ जेठ-  स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अछाममा वडा अध्यक्ष उम्मेदवारमा तीन वटा दलले एउटै नाम भएका व्यक्तिलाई अघि सारेका छन्। मेल्लोख गाउँपालिकाको वडा अध्यक्षको उम्मेदवारमा कांग्रेस, एमाले र माओवादी केन्द्रले खगेन्द्र साउद नाम गरेका व्यक्तिहरूलाई अघि सारेका हुन्।

अचम्मको कुरा के भने तीनैजना खगेन्द्र दाजुभाइ हुन्। तीन उम्मेदवारमध्ये एमलेबाट टिकट पाउने खगेन्द्र सबैभन्दा जेठा हुन् भने माओवादी केन्द्रबाट टिकट पाउने माइलो तथा कांग्रेसबाट टिकट पाउने कान्छो। तीनै खगेन्द्रको उपनाम पनि एउटै छ, खगी।
गाउँमा उनीहरूमध्ये एमालेबाट टिकट पाउनेको टोलको नाम जेठारुम्टी, कांग्रेसबाट टिकट पाउनेको पान्लावाणी र माओवादीबाट टिकट पाउनेको टोलको नाम ठेकघरी भनेर चिन्ने गरिन्छ। एमालेबाट टिकट पाउने जेठा, माओवादीबाट टिकट पाउने माइला र कांग्रेसबाट टिकट पाउने कान्छा बाजेतर्फका नाति हुन्। तीनैजना उम्मेदवारको नाम एउटै भएपछि वडामा जुन पार्टीले जिते पनि खगेन्द्रले नै जित्ने निश्चित भएको छ।

हात्तीकोट कांग्रेसको बलियो पकड भएको वडा मानिन्छ। सोही वडाबाट कांग्रेसले मैललोख गाउँपालिका प्रमुखमा धनबहादुर शाहलाई उम्मेदवार चयन गरिसकेको छ। शाह यसअघि २०४९ को स्थानीय निर्वाचनमा वडा नम्बर ९ बाट निर्विरोध अध्यक्ष र २०५४ को निर्वाचनमा गाविस अध्यक्ष निर्वाचित भएका थिए।

यो खबर अन्नपूर्ण पोष्टले  छापेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार