काठमाडौं, १७ जेठ – आगामी असार १४ गतेलाई तोकिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार दोस्रो चरणको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । मनोनयन दर्ता गरिएको उम्मेदवारको सूची सोही दिन २ गते बेलुका साढे ५ बजे प्रकाशित गरिनेछ ।
त्यस्तै असार ३ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको तालिका राखिएको छ । त्यस्तै असार ४ गते विहान साढे ११ बजेसम्म मनोनयन जाँचको समय तालिका राखिएको छ ।
उम्मेदवारको नामावली असार ४ गते विहान साढे ११ देखि १ बजेसम्म प्रकाशित गर्ने तालिका तय गरिएको छ भने सोही दिन दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखिएको छ ।
उम्मेदवारको अन्तिम नामावली असार ५ गते विहान १० बजदेखि ११ बजेसम्म प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै असार ५ गते विहान ११ बजदेखि बेलुका ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
असार १४ गते विहान ७ बजदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । दोस्रो चरणमा चार प्रदेशका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ ।