काठमाडौं, २१ जेठ – एक सेकेन्ड पनि पतिसँगै देखभेट–उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् ।
रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो ।
वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउने ?’ उनले भनिन् ।
अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन् । छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् । केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ ।
मधेस–तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ । हुर्के बढेपछि भनेजस्तो केटा–केटी नपाइने तथा दाइजो पनि धेरै दिनुपर्ने प्रचलन रहँदा मधेसका धेरै विपन्न समुदाय चेपुवामा छन् । त्यसैले बोझ हल्का गर्न सानैमा छोरीको विवाह गरिदिने चलन रुपन्देहीलगायत तराईका जिल्लामा कायमै छ ।
बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाए पनि लुकिछिपी ग्रामीण भेगमा चलिरहेको छ । तराई मधेसमा रहेको परम्परा पछ्याउँदै यसरी नै लगनगाँठो कस्सिएको हो । २१ वर्षीय नन्दनी र २३ वर्षीय नन्दकुमारको भौतिक रूपमा भेटघाट नभईकनै विछोड भएको छ ।
तीन वर्षपहिला नन्दकुमारको कतारको दोहामा काम गर्दैगर्दा क्रेनले चेपिएर मृत्यु भएको थियो । नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन् । शुद्दोधन नगरपालिका–७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन् । –अन्नपूर्ण पोस्ट दैनिक