प्रधानमन्त्रीले दबाब दिनुभयो : प्रधानन्यायाधीश कार्की

काठमाडौं, २१ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । प्रधानन्यायाधीश कार्कीले ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेकी हुन् ।

‘अब म त हिँड्ने बेला भयो, खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेकी प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो । उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र मुद्दाको कुरा निकाल्नुभयो ।’

दाहाललाई उद्धृत गर्दै कार्कीले भनिन्, ‘तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमानजीले मलाई धम्क्याए । म यो कुर्सीमा सात महिना बस्छु म बसुन्जेल मुद्दा रोकिदिनुहोस् । म गएपछि फैसला गर्नुहोला ।’

कार्कीले अगाडि भनिन्, ‘त्यसपछि मैले भने, अब मेरो हातमा छैन । मुद्दाले आफ्नो कोर्स लिइसक्यो । मैले मुद्दा हेर्दा पनि हेर्दिनँ, अर्को बेन्चले हेर्छ भनिदिएँ ।’

त्यसैगरी अन्य मुद्दामा पनि भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्नै छाडेकोसमेत उनले खुलाइन् । ‘उहाँले तीन खेप बोलाउनुभयो । एक पटक लोकमानको मुद्दा भएको बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को पटक केमा हो मैलै बिर्सेँ,’ कार्कीले अन्तरवार्तामा भनेकी छन्, ‘तीनै पटक म पाँच–पाँच मिनेटजति बसेँ हुँला । चियाँ खाएँ, निस्किएँ । राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरूमा शिष्टाचारकै रूपमा लिएँ । तर जति पटक मैले भेटेँ र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो । त्यसपछि म प्रचण्डसँग सतर्क भएँ ।’ –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार