काठमाडौं, २१ जेठ – ‘युवालाई फ्री वाईफाई, वृद्धवृद्धालाई थप भत्ता !’ पहिलो चरण स्थानीय निर्वाचनताका सबैजसो उम्मेदवारले उठाएका लोकप्रिय नारा हुन् यी । निर्वाचन सकिएसँगै कसैले व्यक्ति र समूहलाई खुसी पार्नेगरी नगरको पहिलो बैठकबाट निर्णय गरेका छन् भने कसैले नेपाल भाषालाई पनि सरकारी कामकाजका लागि प्रयोग गर्ने अठोट सार्वजनिक गरेका छन् ।
नगरवासीलाई रिझाउनेगरी लोकप्रिय कार्यक्रम घोषणा गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । २० वर्षपछि चुनिएका अधिकांश जनप्रतिनिधिले जनतालाई सर्वोच्च ठानेर प्रतिस्पर्धात्मक र आक्रामक ढंगले कार्यक्रम अघि बढाएका हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचनपछि आमनागरिक उत्साहित भएर विकास, समृद्धि र राष्ट्र निर्माणको सुन्दर सपना देखिरहेको र आफ्ना जनप्रतिनिधिमार्फत लोकतन्त्रको अभ्यास गरी समुन्नत समाजको सम्भावना खोजिरहेको जनाएको छ ।
पहिलो बैठकका निर्णय
काठमाडैां महानगरपालिका : ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताका अलावा मासिक थप एक हजार रुपैयाँ दिने । दक्ष चिकित्सक घरमै पठाएर स्वास्थ्य परीक्षण गराउने । नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने ।
ललितपुर महानगरपालिका :जनसेवाका सबै काम सहज ढंगले गर्ने । नगरको भौतिक विकासका लागि तत्काल कार्यटोली बनाएर काम गर्ने ।
पोखरा महानगरपालिका :७० वर्षभन्दा माथिका १३ हजार १ सय ६ जनालाई थप १० प्रतिशत भत्ताको व्यवस्था गर्ने ।
महालक्ष्मी नगरपालिका :ज्येष्ठ नागरिकलाई चार महिनामा थप ५ सय रुपैयाँ प्रदान गर्ने ।
गोदावरी नगरपालिका :चिल्ड्रेन पार्क बनाउने ।
मध्यपुर थिमी नगरपालिका :ज्येष्ठ नागरिकको कष्टप्रद अवस्थालाई ध्यानमा राखेर सामाजिक सुरक्षाभत्ता घरघरमै पुर्याउने ।
शंखरापुर नगरपालिका :नगरभित्रका कच्ची सडकलाई पक्की गर्ने ।
टोखा नगरपालिका :नगर क्षेत्रका मुख्य सडकलाई स्तरोन्नति गर्ने । — अन्नपूर्ण पोस्ट दैनिक