काठमाडौं, २१ जेठ – सामाजिक सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकले आइतबार (आज) राजधानीमा प्रदर्शन गरेका छन् ।अग्रज समाज नेपालसँग आबद्ध करिब २०० ज्येष्ठ नागरिकले मिनभवनस्थित सडक विभाग कार्यालय नजिकै सडकमै सुतेर करिब एक घन्टा प्रदर्शन गरेका थिए ।
ज्येष्ठ नागरिकले सार्वजनिक यातायातमा र उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, कानुनबमोजिम ६० वर्ष पुगेपछि वृद्धभत्ता उपलब्ध गराउनुपर्नेलगायत माग राखेका छन् ।
समाजका अध्यक्ष महाप्रसाद पराजुलीले अहिले ज्येष्ठ नागरिकले पाइरहेको रु दुई हजारलाई बढाउने भनेर राजनीतिक दलका शीर्ष नेताले प्रतिबद्धता जनाउँदै आएपनि कार्यान्वयन नगरेको गुनासो गरे ।
स्थानीय तहका जनप्रतिनिधिले ज्येष्ठ नागरिकले पाउँदै आएको भत्ता बढाउन खोजेपनि सरकारले त्यसलाई रोक्न निर्देशन दिएको भन्दै पराजुलीले आपत्ति जनाए ।