प्रधानमन्त्री चयन मंगलबार हुने, राप्रपा र समाजवादी फोरमले देउवालाई सघाउने

काठमाडौं, २१ जेठ – व्यवस्थापिका–संसदमा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमले प्रधानमन्त्री निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

संसद भवन बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेस सभापति शरवहादुर देउवालाई समर्थन गर्ने वा नगर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद भएको थियो । राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित पत्र पठाएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।कांग्रेस सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४ वटा मन्त्रालय दिने आश्वासन दिएको राप्रपा निकट स्रोतको दावी छ ।

यसैबीच, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको फोरम संसदीय दलको बैठकले आफ्ना मागहरुप्रति शेरवहादुर देउवा सकारात्मक देखिएको भन्दै समर्थन गर्ने निर्णय गरेको हो ।

सभापति देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राससलाई जानकारी दिए ।

“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धताअनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”,उनले भने । फोरमसँग हाल व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने १५ सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार