संसद अवरोधको नाटक सकियो, देउवा ४०औँ प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं, २३ जेठ – संसद अवरोधको नाटक मञ्चन सकिएसँगै मुलुकले नयाँ प्रधानमन्त्री पाउने बाटो खुलेको छ । नयाँ प्रधानमन्त्रीका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । मंगलबार १ बजे डाकिएको बैठकमा प्रमुख विपक्षी एमाले समेत सहभागि हुने सहमति जुटेको छ ।  प्रधानमन्त्री चयनको  प्रक्रियामा सहभागि भएपनि देउवाको विपक्षमा मतदान गर्ने एमाले नेताहरुले बताएका छन् ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने मंगलबार बस्ने पहिलो बैठकमा तीन शीर्ष नेताहरुले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने बताए । उनले भने, ‘शीर्ष नेताहरुबीच संसद खोल्ने सहमति भएपछि अब अवरोध हटेको छ । प्रधानमन्त्री चयन प्रक्रिया पूरा हुन्छ ।’

मुख्य तीन दलबीच भएको सहमति अनुसार मंगलबार संसद बैठक प्रारम्भ भएपछि तीन दलका शीर्ष नेताहरुले व्यवस्थापिका सम्बोधन गर्नेछन् । नेताहरुको सम्बोधनसँगै सभामुख ओनसरी घर्तीले पहिलो चरणको बैठकमा राष्ट्रपति कार्यालयको पत्र लगायतका विषयबारे सदनलाई जानकारी गराउने कार्यसूची रहने छ ।

सभामुखले राष्ट्रपतिको पत्रबारे सदनलाई जानकारी गराउनुका साथै शीर्ष नेताहरुको सम्बोधनपछि अर्को चरणको बैठक सुरु हुने प्रमुख सचेतक ढकालले बताए । दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

प्रधानमन्त्रीका लागि संसद सचिवालयमा शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेका कारण उनको पक्ष र विपक्षमा भोटिङ हुनेछ । प्रधानमन्त्री चुन्न एक जनाको मात्रै उम्मदेवारी परे पनि मतदानमा जानै पर्ने संवैधानिक प्रावधान छ ।

प्रमुख विपक्षी एमालेसहितका दलहरुले संविधान संशोधन विधेयक फिर्ता, प्रधानमन्त्रीको निर्वाचनमा आफुहरुलाई जानकारी नै नदिएको र चुनावमा धाँधली भएको लगायत विषय उठाउँदै सदन अवरुद्ध गर्दै आएका थिए । संसद सचिवालयले आइतबार प्रधानमन्त्री चयनको तालिका राखेको भएपनि एमालेले भरतुर महानगरको मतगणनाको विषयलाई लिएर मंगलबारसम्का लागि बैठक सार्न भनेको थियो ।

संसदको अवरोध हटाउने विषयमा सोमबार अपरान्ह सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरुको बैठक बस्यो । बैठकमा  एमाले नेताहरु संसदको अवरोध हटाउन राजी भएपछि प्रधानमन्त्री चयनको बाटो सहज भएको हो ।

सभामुखको पहलमा बसेको बैठकमा काँग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, एमाले नेता केपी ओली, झलनाथ खनाल, सुवास नेम्वाङ, माओवादी नेता पुष्पकमल दाहाल र  नारायणकाजी श्रेष्ठ लगायत सहभागि भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार