काठमाडौं, २३ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसदमा मंगलबार साँझ सम्पन्न निर्वाचनबाट देउवा प्रधानमन्त्रीमा चयन भएका हुन् । उनी नेपालको ४०औं प्रधानमन्त्री बनेका हुन् ।
चौथोपटक प्रधानमन्त्री बन्नेक्रममा देउवाको पक्षमा कुल ३८८ सांसदको मत परेको छ भने उनको विपक्षमा १७० मत परेको छ ।नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायतका दलहरु तथा केही स्वतन्त्र सांसदहरुको मत देउवालाई परेको छ ।
देउवाको विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका पार्टीका सांसदहरुले भोट हालेका थिए ।यसअघि, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले देउवालाई प्रधानमन्त्रीमा चयन गर्न प्रस्ताव गरेका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका थिए ।
प्रधानमन्त्री चयन हुनु अघि संसदमा आफ्नो उम्मेदवारीको सूचना पेश गर्दै देउवाले तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने कामलाई उच्च प्राथमिकता दिने बताएका थिए। उनले आर्थिक समृद्धि आफनो अर्को प्राथमिकता भएको पनि उल्लेख गरेका थिए। देउवाले राष्ट्रिय स्वार्थ अनुकूल परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।
कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई एकतावद्ध बनाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न र मुलुकलाई समृद्ध बनाउन नयाँ सररकार सफल हुने विश्वास व्यक्त गरेका थिए। उनले देउवा नेतृत्वको सरकारले छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्बन्ध कायम गरेर मुलुकलाई समृद्ध बनाउन सक्ने सुझाव पनि व्यक्त गरेका थिए।
देउवाको प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास र जनतालाई विकास दिन नयाँ सरकारलाई सफल हुने विश्वास व्यक्त गरेका थिए।
कांग्रेस सभापति देउवा यस अघि नै तीन पटक प्रधानमन्त्री भईसके छन्। उनी १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवासँग प्रधानमन्त्री भईसकेको अनुभव छ । तर उनी नेतृत्वको सरकार असफल भएको भनेर आलोचना हुँदै आएको छ।
देउवामाथि शासनसत्ता राजाको हातमा बुझाएको आरोप समेत लगाइएको थियो । देउवा ४५ वर्षको उमेरमा गृहमन्त्री बन्न सफल भएका थिए। २०४८ सालको आम निर्वाचन पछि गृहमन्त्री बनेका उनी २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन्। त्यसपछि २०५८ र २०६१ सालमा पनि देउवा प्रधानमन्त्री बने।
२००४ सालमा डडेलधुरामा जन्मिएका देउवा विभिन्न समयमा गरी नौं वर्ष जेल जीवन बिताइसकेका छन्। देउवा लगातार सांसद बन्दै आएका छन्। नवनिर्वाचित प्रधानमन्त्री देउवाको शपथग्रहण बुधबार (भोलि) दिउँसो हुने तय भएको छ भने देउवाले बुधबारै नै पदभारग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले बुधबारै नै सानो मन्त्रिपरिषदसमेत बनाउने जनाइएको छ ।