कम बोल्छु, बढी गर्छु : कांग्रेस सभापति देउवा

काठमाडौं, २४ जेठ  – माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ ।

आरोप/प्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो ।

माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो ।

सायद यही तिक्ततापूर्ण विगततर्फ इंगित गर्दै प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले वर्तमान गठबन्धनप्रति संसद्मा मंगलबार प्रश्नसमेत उठाउनुभएको थियो । यद्यपि, संसद्मा मन्तव्यका क्रममा देउवाले दाहाल र दाहालले देउवाको प्रशंसामा अधिकांश समय खर्चनुभएकाले दुई नेताबीचको सहकार्य लामो समय जाने आकलन गर्नेहरूको पनि कमी थिएन ।

माओवादी केन्द्रको प्रमुख सहकार्यमा मधेसकेन्द्रित दल र साना दलको सहमतिमा देउवा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । मंगलबार संसद्मा भएको मतदानमा कुल खसेको ५ सय ५८ मतमध्ये देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो । विपक्षमा १ सय ७० मात्र मत पर्‍यो । हाल कायम ५ सय ९३ सदस्यमध्ये देउवालाई प्रधानमन्त्री बन्न सामान्य बहुमत चाहिन्थ्यो ।

तर, यसअघि कांग्रेस-माओवादी गठबन्धनसँग नजिक रहेका सबै दलले देउवालाई प्रधानमन्त्रीमा मतदान गरे ।कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच संसद् भवनमै तीनबुँदे सहमति भयो र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले देउवाका पक्षमा मतदान गरे ।

यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले पनि देउवालाई साथ दिनुभयो । देउवाले पाएको मतलाई संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मतसँग पनि जोडिएर हेरिएको छ । संविधान संशोधन गर्ने वचन दिएकाले दुई तिहाइ जुटाउन अब देउवालाई केही मतको खाँचो देखिन्छ ।

प्रमुख विपक्षी एमालेका १ सय ८१ सांसद रहे पनि देउवाको विपक्षमा १ सय ७० मत मात्र खस्यो । १७ जना एमालेकै सांसद मतदानमा अनुपस्थित रहेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । ‘हाम्रो तर्फबाट उम्मेदवार पनि थिएन, केही साथी बिरामी र केही साथी दोस्रो चरणको निर्वाचनमा खट्नुभएकाले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी हुन पाउनुभएन’, ढकालले भन्नुभयो ।

नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र मधेस समता पार्टीले पनि देउवाको विपक्षमा मतदान गरेका थिए । तर, नेमकिपाले भने निर्वाचनमा भाग लिएन । ‘मुलुकको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा, देश विकास, पुनर्निर्माणलगायत विषयमा कुनै कार्यक्रम नभएपछि प्रधानमन्त्री निर्वाचनमा भाग लिनुको अर्थ नरहेपछि हामीले भाग लिएनौं’, नेमकिपाका प्रेम सुवालले भन्नुभयो ।

०५२, ०५८ र ०६१ सालमा प्रधानमन्त्री बन्नुभएका देउवा राजाबाट ‘अक्षम’ भनी घोषणा भएको १२ वर्षपछि प्रधानमन्त्री बन्नुभएको हो । ‘पहिलाजस्तो ज्ञानेन्द्रले फाल्ने, ल्याउने परिस्थिति अहिलेको होइन, दाहालले देउवालाई संसद्मा प्रस्ताव गर्दै भन्नुभयो, ‘राजा-महाराजाले कसरी ह्युमिलिट गरे भन्ने कुरा उहाँले भन्नुभएको छ । तर, अहिलेको फरक परिस्थिति हो’, दाहालले भन्नुभयो ।

एमालेका तीनैजना नेता माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफू प्रस्तावक बने पनि एमालेबाट त्यस्तो अवसर नपाएको भन्दै दाहालले गुनासो पोख्नुभयो । ‘कांग्रेसले गुन लगायो, मैले तिरेँ’, दाहालले भन्नुभयो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान बनाउन आफूले ठूलो योगदान गरे पनि ठूला दलका नेताले आफ्नो योगदानलाई बिर्सेको भन्दै गुनासो पोख्नुभयो ।

 देउवाका ५ चुनाती
१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।
सपथ आज पौने दुई बजे, आज सानो मन्त्रीमण्डल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार