माओवादीबाट महरा परराष्ट्र र उपप्रधानमन्त्री, जनादर्न शर्मा गृहमन्त्री

माओवादी बैठकमा क–कसले मागे मन्त्री पद ?

काठमाडौं, २४ जेठ  – नेकपा माओवादी केन्द्रबाट शेरबहादुर देउवा सरकारमा कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु साह पहिलो चरणमा मन्त्री बन्ने भएका छन्। माओवादी केन्द्रले महरालाई उपप्रधान तथा परराष्ट्र, शर्मालाई गृह मन्त्रीमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। ‘प्रभु साहले पनि आजै सपथ लिनुहुन्छ, तर उहाँको मन्त्रालय टुंगो लागिसकेको छैन ।

सो बैठकमा नेताहरु टोपबहादुर रायमाझी, अग्नी सापकोटा, हरिबोल गजुरेल लगायतले आफू मन्त्री हुनुपर्ने माग राखेका भएपनि पहिलो चरणमा मन्त्री बन्ने सूचिमा अटाएनन् । यस्तै अध्यक्ष प्रचण्डले भने पार्टीको छबी कायम राख्दै राम्रो काम गर्न सक्नेहरुलाई मन्त्री बनाउनु पर्ने धारणा राखेका थिए ।

बैठकमा कसले के भने ?

अध्यक्ष प्रचण्ड
अहिले सरकारमा जाने मन्त्रीहरुको पर्सनालिटी पनि हुनुपर्छ । हामीले अहिले सरकारमा अनुभवि र राम्रो काम गरेकाहरुलाई पठाउनु पर्छ । महराजीले गठबन्धन बनाउन राम्रो भूमिका खेल्नु भयो । त्यस्तै जनार्दन शर्माले मेरो नेतृत्वको सरकारमा ऊर्जामन्त्री हुँदा स्टार क्याम्पेनर नै बन्नुभयो । उस्तै परे उहाँकै नेतृत्वमा जाँदा पनि हुन्छ । हामीले चुनावमा चामल पनि बेच्न सकेनौं । अबको दोस्रो चरणमा यो कुरालाई मनन गर्न जरुरी छ । पहिला भन्दा हामी सुधे्रका छौं । विचार, संगठन र संस्कृतिलाई अझ राम्रो बनाउनु पर्छ । माओवादी सकियो भनेका पनि थिए । अब माओवादी उठ्यो । सरकारमा जाने मन्त्रीहरुले जनताका पक्षमा सबैभन्दा राम्रो काम गर्नुपर्छ । सबैले म मन्त्री हुन्छु भनेर पनि भएन । ठाउँपनि हुनुपर्यो । दाबी गर्ने साथीहरुलाई भावी दिनमा हेर्दै जाऔंला ।

रामबहादुर थापा बादल
अध्यक्ष कमरेडले राख्नु भएको निर्णय सही छ । पार्टी एकताले हामीलाई मजबुद बनाएको छ । पार्टीलाई थप शक्तिशाली बनाउन सरकारमा जाने साथीहरुले धेरै राम्रा काम गरेर देखाउनु पर्छ ।

नारायणकाजी श्रेष्ठ
मन्त्री छान्न विधि प्रक्रिया प्रष्ट बनाउनुपर्छ । अहिलेको परिस्थितिमा अध्यक्ष कमरेडले राखेका कुरा सही छन् । सिनियरबाट टोपबहादुरजी उपप्रम हुनुभयो । महराजी भइसक्नुभयो । हरिबोल गजुरेल र गिरीराजमणि पोखरेलको पनि पालो हो । अहिलेको गठबन्धनमा नेतृत्व गरेर जानेमा महरासँग अनुभव पनि छ ।

टोपबहादुर रायमाझी
म दलको उपनेता हुँ । प्रचण्ड दलको नेता हुनुहुन्छ। अब सरकारको नेतृत्व मैले गर्नुपर्छ भन्ने मेरो दाबी छ। पार्टीले गरेका निर्णयलाई मैले अवज्ञा गर्ने भन्ने कुराचाहिँ हुँदैन ।

कृष्णबहादुर महरा
म सरकार जान इन्ट्रेस्ट छै्रन । अब फेरि पार्टीले जान भन्छ भने मैले जान्न भन्न मिल्दैन । नेतृत्व गर्न सक्ने साथीहरु पार्टीमा धेरै छन् ।

वर्षमान पुन अनन्त
अध्यक्षले राख्नु भएको प्रस्ताव ठीक छ । अहिलेको परिस्थितमा यो निर्णय नै उत्तम हो ।

गोपाल किराती
साथीहरु निर्णय गर्दै गर्नुहोला । पार्टीलाई राम्रो बनाउनु पर्छ । मेरो प्लेन छुट्न लाग्यो । म हिँडे ।

अग्नी सापकोटा
अहिलेको मन्त्रिमण्डलमा जानु पाउनुपर्छ भन्ने मेरो दाबी छ । म हरेक कुराले मन्त्री बन्न योग्य छु । यो मेरो कुरालाई पार्टी नेतृत्वले स्वीकार गरिदिनुपर्छ ।

मणि थापा
अबका मन्त्रीहरुले राम्रो काम गरेनन् भने म सार्वजनिक रुपमा विरोधमा उत्रिन्छु । पार्टी एकताले माओवादीको शाख बढेको छ । यसलाई अझैं बढाउन जनताको पक्षमा काम गर्ने कुरामा बढी दिनुपर्छ । मन्त्री बन्ने फोटो झुण्ड्याउने तर केहि काम नगर्नेहरुलाई मन्त्री बनाइरहनु हुँदैन ।

जनार्दन शर्मा
पार्टीले जे निर्णय गर्छ म त्यसलाई लागू गर्छु । पार्टीले मन्त्री बन् भने म पछि हड्दिनँ । पार्टीलाई सफल बनाउने कुरा नै मुख्य कुरा हो । म मन्त्री बन्नु र नबन्नु कुनै ठूलो कुरा होइन ।

हरिबोल गजुरेल
पार्टीमा को मन्त्री बन्ने भन्दा पनि कसरी बनाउने भन्ने सिस्टमै छैन । मन्त्री छान्ने मापदण्डको आधार के हो भन्ने पनि तय हुनुपर्छ । मूल्यांकन तिर ध्यान दिऔं । मेरो यसैमा जोड छ ।

देव गुरुङ
यस्तो बेलामा सिस्टमका कुरा र मूल्यांकनका कुरा नउठाऔं । पछि गर्दै गरौंला । सिएमले राखेको योजना ठीक छ । यो नै उत्तम विधि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार