काठमाडौं, २५ जेठ – प्रधानमन्त्री शेरबहादुर देउवाले तीनओटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल विद्यार्थी संघले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिए । उनले भने–‘निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाइँहरु निर्वाचनमा लाग्नुहोस् ।’
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला–जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताए । वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गरे ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै कांग्रेसलाई जिताउन नेविसंघले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।