कीर्ते गरी प्रवेशाज्ञाका लागि आवेदन दिनेहरू सावधान !

काठमाडौं, २५ जेठ  – सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ । नक्कली सरकारी कागजात र छाप बनाइ विभिन्न देशमा जान आवेदन दिनेक्रम बढ्दा नेपालस्थित विभिन्न दूतावासका कर्मचारी कुन सक्कली कागजात र कुन नक्कली हो ? भनी छुट्याउन नसक्दा आजित हुँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयअन्तर्गत् कन्सुलर सेवा विभागका महानिर्देशक गहेन्द्र राजभण्डारीले विभागबाट जारी भएका ‘भिसा नोट’ र ‘प्रमाणीकरणका कागजपत्र’ सम्बन्धित दूतावासले हेरी नक्कली वा सक्कली छुट्याउनसक्ने व्यवस्था विभागले मिलाएको जानकारी दिए ।

मन्त्रालयले बिहीबार सिंहदरबारमा नेपालस्थित विभिन्न दूतावासका प्रवेशाज्ञा र कन्सुलर विभाग हेर्ने प्रतिनिधिलाई बोलाएर सो प्रविधिको व्यवस्था मिलाइएकाबारे जानकारी दिएको छ । सम्बन्धित दूतावासले विभागको वेबसाइटमा गएर विभागबाट जारी गरिएको कागजातको ‘स्क्यानिङ’ प्रति हेर्नसक्ने व्यवस्था मिलाइएको राजभण्डारीले जानकारी दिए ।

बिहीबारको छलफलमा नेपालस्थित विभिन्न दूतावासका प्रवेशाज्ञा र कन्सुलर विभाग हेर्ने २५ देशका प्रतिनिधिको सहभागिता थियो ।कुन व्यक्ति कुन देशमा जाँदैछ, उसले विभागबाट प्रमाणित गराएको लब्धांकपत्र, नागरिकतालगायतका कागजातको विवरण वेबसाइटमा राखिने व्यवस्था मिलाइएको छ ।

महानिर्देशक राजभण्डारीले भने–‘नयाँ व्यवस्थाले सरकारी निकायले जारी गरेका कागजपत्रको विश्वसनीयता वृद्धि हुनेछ । विगतमाजस्तो बागबजारमा नक्कली छाप र लेटरप्याड बनाएर प्रवेशाज्ञाका लागि आवेदन दिने कुराको अन्त्य हुन्छ ।’

विभागले तीन/चार महिनाअघिदेखि नै परीक्षणकारुपमा यो व्यवस्था लागू गरे पनि बिहीबारबाट औपचारिकरुपमा जानकारी दिएको हो ।

अहिले एकै दिनमा विभागबाट करिब ८०० जनालाई सेवा दिइराखिएको र उनीहरुका करिब एक हजार ५०० कागजपत्र प्रमाणीकरण गरिने गरेको राजभण्डारीले बताए । आफूले विभाग सम्हालेयता ७० प्रतिशत काम डिजिटललाइज्ड गरिएकोे उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार