सिन्दुर हाल्नेबेला मण्डपबाटै प्रकाउ परे बेहुला-बेहुली

इटहरी,२६ जेठ – इटहरीमा भइरहेको एक विवाह मण्डपबाट सिन्दुर हाल्ने बेलामा बेहुला-बेहुलीलार्इ इलाका प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरेको छ ।

इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवालको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न दुवैका परिवार राजी भएपछि बिहिबार इटहरीस्थित डेरामै विवाह हुँदै गर्दा बेहुला-बेहुली पक्राउ परेका हुन् ।

बेहुलीको उमेर कम भएका कारण नै उनीहरुलार्इ पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तिराम कार्कीले बताए । नेपालको कानुनले विवाहका लागि १८ वर्ष उमेर पुग्नुपर्ने जनाउँछ । तर, बेहुलीको उमेर १७ वर्षमात्र पुगेको छ , जुन नेपालको कानुनअनुसार विवाह गर्न योग्य छैन् ।

विवाहको सबै प्रक्रिया पूरा गरिसकेकोले एक्कासी प्रहरी आएर बेहुला-बेहुलीलार्इ पक्राउ गरेको भन्दै जन्ती तथा आफन्तहरु आन्दोलीत बनेका छन् । बालविवाह रोक्न लागि पर्ने स्थानीय क्लबका बालबालिका र केही अधिकारकर्मीमाथि आक्रोशित समूहले हातपातको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध बालविवाहको मुद्दा दर्ता गरिने निरीक्षक कार्कीले बताए ।

निम्न आर्थिक अवस्थाका बेहुली पक्षले निकै दुःख गरेर विवाह गरेको र दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेकोले मागी विवाह गरेको उनीहरूका आफन्तले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार