राजपाको चुनाव सार्ने प्रस्ताव प्रधानमन्त्री देउवाबाट अस्वीकृत

काठमाडौं, २७ जेठ – राष्ट्रिय जनता पार्टी नेपालले असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न राखेको प्रस्ताव प्रधानमन्त्री शेर देउवाले अस्वीकार गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सिंहदरबारमा बोलाएको तीन दलको बैठकमा राजपाका नेताहरुले राखेको चुनाव सार्ने प्रस्ताव सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले ठाडै अस्वीकार गरेका हुन् ।

राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताउँदै चुनाव सार्ने माग गरेकामा प्रधानमन्त्री देउवाले केही प्राविधिक विषय छ भने सम्बोधन गर्न सकिने तर, चुनाव सार्न नसकिने बताएका हुन् ।

राजपा नेताहरुले आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार राजपाका नेताहरुलाई मनाउने अन्तिम प्रयास स्वरुप शनिवार साँझ र आइतवार पनि पुन: छलफल गर्ने समझदारी भएको छ ।

राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव सम्पन्न भयो तर, राजपा सहभागी भएन । राष्ट्रिय जनता पार्टीको सहभागिताका लागि भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव पनि असार ९ हुँदै १४ का लागि सारेको छ ।

तर, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतको माग राख्दै राजपाले चुनावमा सहभागी नहुने संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार