अर्थशास्त्र नपढेका अर्थमन्त्री

काठमाडौं, २८ जेठ – गएको मार्च महिनामा दक्षिण अफ्रिकाका राष्ट्रपति जेकव जुमाले लोकप्रिय अर्थमन्त्री प्रविन गोर्द्धनलाई आफ्नो सत्तापलट गर्न लागेको आशंकामा बर्खास्त गरे। उनको बर्खास्तगी अन्तर्राष्ट्रिय समाचार बन्यो। एकै दिनमा दक्षिण अफ्रिकी मुद्रा र्यान्ड चार प्रतिशतले अवमूल्यन भयो। दक्षिण अफ्रिकी अर्थतन्त्रप्रति मुलुकभित्र र बाहिरका लगानीकर्ताको विश्वास गुम्ने जोखिम रहेको विश्लेषण हुन थाल्यो। समष्टिगत आर्थिक सन्तुलन गुमाएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको, सरकारी वित्त व्यवस्थापनमा कुशलता देखाएको जस बटुलेका प्रविनको प्राज्ञिक योग्यता भने फार्मेसीमा स्नातक थियो। र, पहिलोपटक अर्थमन्त्री हुनुअघि राजनीतिक नियुक्ति पाएर दस वर्ष राजस्व बोर्ड (दक्षिण अफ्रिकी राजस्व सेवा) को कमिस्नरका रुपमा काम गरेको अनुभव थियो।

दक्षिण अफ्रिकाका अर्का अर्थमन्त्री ट्रेभर म्यानुअल अन्तर्राष्ट्रिय स्तरमै चर्चित हुन्। भविष्यका होनहार नेता भनेर सन् १९९४ को डाभोस इकोनोमिक फोरममा सम्मानित भएका ट्रेभर म्यानुअल सन् १९९६ देखि २००९ सम्म लगातार अर्थमन्त्री भए। उनको कार्यकालमा दक्षिण अफ्रिकी अर्थतन्त्रको वृद्धिदर उच्च रह्यो। समष्टिगत आर्थिक सन्तुलन कायम भयो र दक्षिण अफ्रिका प्रभावशाली उदीयमान अर्थतन्त्रका रुपमा स्थापित भयो। उनको प्राज्ञिक योग्यता स्ट्रक्चरल इन्जिनियरिङमा स्नातक थियो। रंगभेद विरुद्धको आन्दोलन बेला जेलबाटै उनले कानुनको परीक्षा पनि उत्तीर्ण गरे।अर्थमन्त्री हुनुअघि अर्थशास्त्रको प्राज्ञिक ज्ञान वा आर्थिक क्षेत्रमा काम गरेको अनुभव उनीसँग थिएन।

सन् १९८३ मा अस्ट्रेलियाको अर्थमन्त्री भएका पल किटिङलाई विश्वकै उत्कृष्ट अर्थमन्त्री भन्ने गरिन्थ्यो। १५ वर्षको उमेरमा विद्यालय शिक्षा त्यागेर लेबर पार्टी प्रवेश गरेका किटिङसँग अर्थशास्त्रसम्बन्धी कुनै प्राज्ञिक योग्यता थिएन। आफ्नै पार्टीको ट्रेड युनियन आन्दोलनमा काम गरेको अनुभवबाहेक केही थिएन। तर, अस्ट्रेलियाको इतिहासमा उनी सबैभन्दा बढी दीर्घकालीन महत्वका आर्थिक सुधार गर्ने अर्थमन्त्रीका रुपमा चिनिन्छन्।

बेलायतमा चारपटक अर्थमन्त्री र चारैपटक प्रधानमन्त्री भएका विलियम ग्ल्याड्स्टोनले पहिलोपटक अर्थमन्त्री हुँदा सन् १८५३ मा पाँच घन्टा लामो बजेट वक्तव्य पढेर एकैपटक एक कुशल वक्ता अनि अंक खेलाउन र बुझाउन सक्ने धुरन्धर अर्थविज्ञका रुपमा आफूलाई स्थापित गरे। आधुनिक कर प्रणालीको विकासक्रममा ग्ल्याड्स्टोनको योगदान स्थापित अर्थशास्त्रीहरूको भन्दा कम आँक्न मिल्दैन। उनले इटन कलेज र अक्सफोर्डमा अध्ययन गरेका त थिए, तर अर्थशास्त्र नै होइन।

बेलायतकी प्रभावशाली प्रधानमन्त्री मार्गरेट थ्याचरको मन्त्रिमण्डलमा करिब एक वर्ष अर्थमन्त्री भएका र पछि थ्याचरको विश्वासपात्र हुनाले प्रधानमन्त्री भएका जोन मेजरका बारेमा एउटा किस्सा त्यो बेला सुन्न पाइन्थ्यो। ग्रामर स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेपछि उच्च शिक्षामा नगएका जोनले बस कन्डक्टरको जागिरमा दरखास्त हाले, तर गुल्टिएछन्! छनोट परीक्षाको गणित विषयमा असफल भएकाले कन्डक्टर पनि हुन नसकेका जोन प्रधानमन्त्री भए भनेर पत्रिकाहरूले उल्लीबिल्ली गरे। कन्डक्टरको जागिर पाउन नसकेको त हो रहेछ, तर लिखित परीक्षामा असफल भएर होइन, उचाइ नपुगेर! होचो भएर बस कन्डक्टर हुन नपाए पनि जोनसँग बीमा र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव थियो। कुनै बेलाको सूर्य नअस्ताउने देश कहलिएको बेलायतको अर्थमन्त्री उनले कुशलतापूर्वक नै चलाए।

संयुक्त राज्य अमेरिकाका प्रथम अर्थमन्त्री अलेक्ज्यान्डर ह्यामिल्टन र अब्राहम लिंकनको कार्यकालमा अर्थमन्त्री रहेका सालमन चेज दुवै अमेरिकी अर्थतन्त्रको विकासमा योगदान गरेका सफल व्यक्ति मानिन्छन्। तर दुवैको अध्ययन र विशेषज्ञताको क्षेत्र कानुन थियो।

अर्कातिर अर्थशास्त्र तथा अर्थतन्त्रका गतिविधिको सूक्ष्म ज्ञान भएका अर्थमन्त्रीहरूले संकट बेला अर्थमन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका उदाहरण पनि त्यत्तिकै छन्। यसका केही उदाहरण छिमेकी मुलुकमा भेटिन्छ— भारतमा मनमोहन सिंह र पाकिस्तानमा शौकत अजीज। मनमोहन सिंहले कठिन परिस्थितिमा रहेको भारतीय अर्थतन्त्रलाई संकटबाट मुक्त गराएको मात्र होइन, उच्चदरको आर्थिक वृद्धिको दिशामा डोर्याउन सफल भएको ख्याति बटुलेका छन्।

प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका र त्यही विश्वविद्यालयमा अर्थशास्त्रकै प्राध्यापक रहेका अन्द्रेस भेलास्को एउटा यस्तो बेला दक्षिण अमेरिकी राष्ट्र चिलीका अर्थमन्त्री भए, जुन बेला तामाको अन्तर्राष्ट्रिय मूल्य उत्पात बढ्यो। तामा उत्पादनमा अग्रणी चिलीलाई आम्दानीको छेलोखेलो। उनलाई त्यो उत्पात आम्दानी तत्काल सामाजिक हितको निमित्त प्रयोग गर्न ट्रेड युनियन र विद्यार्थी संगठन लगायतबाट ठूलो राजनीतिक दवाब थियो। तर उनले आफ्नो अर्थशास्त्रीय ज्ञान र विवेक प्रयोग गरे। दीर्घकालीन व्ययभार बढ्ने तत्काल वितरणमुखी काममा खर्च बढाउनभन्दा नगद संचिति राख्न रुचाए, जुन कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशतसम्म पुग्यो।

सन् २००८ को विश्वव्यापी वित्तीय संकट बेला तामाको मूल्य घट्यो। परिणामस्वरूप एकातिर मुलुकको वैदेशिक मुद्राको स्रोत सुक्यो, सरकारी आम्दानी घट्यो भने अर्कातिर बैंक तथा वित्तीय क्षेत्र र ठूला उद्योगहरू संकटग्रस्त बने। मानिसले रोजगारी र आम्दानी गुमाए। चिलीले त्यो संकटको बेला अरू मुलुकले जस्तो अन्तर्राष्ट्रिय मुद्रा कोषसमक्ष सहयोगको याचना गरेन। रोजगारी र निवृत्तिभरणको स्रोत गुमाएकालाई राहत दिन, संकटग्रस्त बैंक तथा वित्तीय संस्थालाई धराशयी हुन नदिन र अर्थतन्त्रलाई गतिशील बनाइराख्न वित्तीय सहयोगका रुपमा त्यही संचित नगद प्रयोग गर्यो। निर्दयी, क्रूर, अक्षम अर्थमन्त्रीको उपमासहित आम रुपमा मन नपराइएका अन्द्रेस भेलास्को एकाएक चिलीका सर्वाधिक लोकप्रिय राजनीतिज्ञ बन्न पुगे। दक्षिण अमेरिकी मुलुकहरूमध्येका सर्वोत्कृष्ट अर्थमन्त्रीका रूपमा पहिचान बनाए।

ज्ञान र दर्शनका दृष्टिबाट अर्थशास्त्र आफैंमा एउटा घेरामा सीमित छैन। समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, व्यवस्थापनजस्ता विधाले अर्थशास्त्रलाई एउटा समुन्नत दर्शनका रुपमा विकसित हुन योगदान गरेका छन्। गणितको त कुरै भएन। गणित त यतिसम्म हावी हुन पुगेको छ, अर्थशास्त्रीहरूलाई बेलाबेला मानवीय आवश्यकता र भावनामाथि अत्याधिक गणित लादिएको बात लाग्ने गरेको छ।

सन् १९६८ मा स्थापना गरेर लगत्तै एक वर्षपछि दिन थालिएको अर्थशास्त्र नोबेल पुरस्कार पनि समयक्रममा सामाजिक विज्ञानमा विज्ञता भएकालाई दिइने सर्वोच्च सम्मानजस्तै भएको छ। राजनीतिशास्त्रमा विद्यावारिधि गरेका हर्बर्ट साइमनलाई अर्थशास्त्रमा १९७८ को नोबल पुरस्कारले सम्मानित गरेपछि गैर-अर्थशास्त्रीलाई अर्थशास्त्रको पुरस्कार दिइएको चर्चा चल्यो। धुरन्धर गणितज्ञ जोन नाशलाई पुरस्कृत गरेपछि नोबेल पुरस्कार समितिले अर्थशास्त्रमा दिइने नोबेल पुरस्कारलाई सामाजिक विज्ञानमा दिइने पुरस्कारका रुपमा व्याख्या गर्न लाग्यो। अर्थशास्त्रका प्रतिष्ठित प्राध्यापकहरू मात्र रहने छनौट समितिमा गैर-अर्थशास्त्रीहरू पनि राख्न थाल्यो।

नेपालमा गएको एक दशकमा पटक-पटक अर्थमन्त्रीको पदमा गैर-अर्थशास्त्री नियुक्त भएका छन्। यसपटकको नियुक्ति त्यस्तै भयो। नेपाली कांग्रेसले पनि आफ्नो परम्परा तोड्यो भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा पढ्न र आम चर्चामा सुन्न पाइन्छ। यसपालि टिप्पणी गर्ने आर्थिक पत्रकार तथा राजनीतिज्ञहरू मात्र नभएर कवि, आख्यानकारहरूले पनि मुख बंग्याएका छन्।

पञ्चायतकालमा सबैभन्दा धेरै बजेट प्रस्तुत गरेका सूर्यबहादुर थापा बाहेक प्राय: अर्थमन्त्रीहरू अर्थशास्त्रको पृष्ठभूमि भएका वा अर्थतन्त्रका बारेमा राम्रो जानकार हुने गरेको देखिन्छ। २०४६ सालको परिवर्तनलगत्तै र निर्वाचनपछि बनेको पहिलो सरकारका अर्थमन्त्रीहरू अध्ययन, विश्लेषण क्षमता र अनुभवका आधारमा अर्थशास्त्रका राम्रा ज्ञाता थिए। नेपाली कांग्रेसको नेतृत्वमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला रहुन्जेल, प्राज्ञिक योग्यता र अनुभवका आधारमा अर्थशास्त्रका ज्ञातालाई नै आफ्नो मन्त्रिमण्डलमा अर्थमन्त्री राखे।

गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्री कालखण्डमा अर्थ मन्त्रालयमा काम गर्दाका मेरा केही अनुभव छन्। उहाँले बोलेर व्यक्त गरेको मैले सुनेको त होइन, तर कार्यशैली र व्यवहारले अर्थतन्त्र सञ्चालन गर्ने मामलामा जानकारलाई विश्वास गर्नुपर्छ भन्ने मान्यता उहाँले राखेको बुझिन्थ्यो। अर्थात्, नजानेको विषयमा जान्ने टोपल्नु हुन्न भन्नेमा उहाँ दृढ!

पार्टी पंक्तिबाट होस् वा बाहिरबाट लोकप्रिय हुन सकिने कुनै आर्थिक निर्णयका लागि अनुरोध वा दवाब जे सुकै होस्, डाक्टर महतलाई सोध्नुपर्छ भन्ने जबाफ दिनुहुन्थ्यो। अर्थमन्त्रीले नाई भनेपछि उहाँले सरकारी निर्णयमा अनावश्यक दवाब दिएको थाहा भएन। नेपाली कांग्रेसकै कालखण्डमा पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न यदाकदा अर्थशास्त्रको पृष्ठभूमि नभएकालाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पने प्रयत्न नभएको होइन। तर, त्यो सहायक वा राज्यमन्त्रीमा सीमित हुन्थ्यो। ज्ञान र आर्थिक सूचना तत्काल विश्लेषण गर्न र प्रतिक्रिया दिन सक्ने सामर्थ्यका कारण अर्थ मन्त्रालयको पूरै प्रणाली र बाहिरका व्यक्तिहरू सिधा अर्थमन्त्रीकहाँ जान रुचाउँथे।

संविधानसभाको पहिलो निर्वाचनपछि बाबुराम भट्टराई अर्थमन्त्री हुनुभयो। उहाँ मूलधारको अर्थशास्त्रका ज्ञाता नभए पनि त्यो बेलाको माओवादी पार्टीका प्रमुख विचारक, रणनीतिकार र मुख्य नेतामध्ये एक हुनुहुन्थ्यो। अर्थमन्त्रीमा उहाँको नियुक्ति हुँदा लगत्तैपछि अर्थमन्त्री हुनुभएका सुरेन्द्र पाण्डेका बेलामा वा अहिले उठेजस्ता प्रश्न वा टिप्पणी आम चर्चामा आएनन्।

अर्थमन्त्रीका रुपमा सुरेन्द्र पाण्डेको प्रारम्भ र अन्त्यमा गरिएका सार्वजनिक मूल्यांकन आकास-जमिन फरक छन्। सुरूमा उहाँको योग्यता र क्षमतामा थुप्रै प्रश्न उठे। खासगरी आर्थिक पत्रकार जगतले उहाँमाथि भरोसा गर्न सकेन। अन्त्यमा, उहाँको तारिफमा लेखहरू प्रकाशित भए।

२०४८ सालको आर्थिक उदारीकरणअघि आर्थिक पत्रकारिताको बिट नै थिएन भन्दा हुन्छ। आर्थिक विषय छापा वा रेडियोका मुख्य समाचार बिरलै बन्थे। उदारीकरणपछि पत्रकारिताको एउटा सशक्त धार आर्थिक पत्रकारिता बनेको छ। दुई दशककै छोटो अवधिमा आर्थिक पत्रकारिताबाट वृत्ति प्रारम्भ गरेकाहरू मूलधारका कहलिएका सम्पादक बनेका छन्। अर्थतन्त्रको स्वास्थ्यसँग आफ्नो पेसाको भविष्य गाँसिएको अनुमानमा पनि होला, अर्थतन्त्रका बारेमा कम जानकार व्यक्ति अर्थमन्त्री हुँदा सबभन्दा पहिला चिन्ता पत्रकार, विश्लेषकहरूको हुने गर्छ।

वास्तवमा सुरेन्द्र पाण्डेका बेला भर्खर उल्लेख गरेझैं चिन्ता र चासो उहाँकै पार्टी भित्र पनि रहेछ!

त्यो बेला म अर्थसचिव थिएँ। उहाँको पद बहाली गराउने जिम्मा ममा थियो। बहालीपछि अर्थ मन्त्रालय प्रणालीका अधिकारी तथा कर्मचारीहरूको भेलामा उहाँको सम्बोधनले अर्थमन्त्रीको जिम्मेवारी बहन गर्न पर्याप्त क्षमता छ भन्ने प्रस्ट गरेको मैले पाएँ। त्यो दिन साँझसम्म मन्त्रालयका विविध गतिविधिका बारेमा हामीले लामो कुरा गर्यौं। घर फर्कनुअघि मलाई लग्यो, आर्थिक नीति र सार्वजनिक वित्त व्यवस्थापनका सम्बन्धमा हाम्रो बोली र लय मिल्छ।

भोलिपल्ट बिहानै त्यसअघि कहिल्यै सिधा फोन नगर्नुभएका नेकपा एमालेका एक शीर्षनेताले फोन गर्नुभयो, ‘सुरेन्द्र पाण्डेलाई अनुभव छैन, तपाईंले सहयोग गर्नु होला भनेर फोन गरेको।’ पार्टीभित्र पनि उहाँका बारेमा कचमच रहेको उहाँले बताउनुभयो। सचिवको दायित्व नै मन्त्रीलाई सफल हुन सहयोग गर्नु हो भनेर मैले उहाँलाई आश्वस्त पारेँ। त्यो कथा त्यत्तिकै सकिएन।

करिब दुई सातापछि एमालेका अर्का शीर्षनेताले घरमै भेट्न बोलाउनुभयो। गएँ। भेटघाटका लागि आँगन र भेटघाट-कक्षमा बिहानै पुगेका एक दर्जनभन्दा बढी मानिस यताउति गरिरहेका थिए। पालैपालो भेट्ने हो भने त मेरो पालो मध्याह्नसम्म पनि आउन्न कि भनेर सोच्दै थिएँ, निजी सचिव हात समात्न आइपुगे। डोर्याएर भर्याङसम्म लगे र मलाई माथि भर्यांङसँगैको कोठामा जान भने। त्यो कोठामा उहाँ बसिरहनुभएको थियो। मैले अभिवादन गरेँ।

भेटघाटको सुरुआत नै उहाँले अर्थमन्त्रीले कस्तो काम गर्दै छन् भन्ने प्रश्नसाथ गर्नुभयो। त्यो बेलासम्म (र, अहिले पनि) सुरेन्द्र पाण्डेका बारेमा तारिफ गर्नुपर्ने विषय र तर्कबाहेक नकारात्मक भन्नुपर्ने मसँग केही थिएन। मैले त्यही भनेँ। उहाँ सन्तुष्ट हुनुभएन। पार्टीभित्रको किचलोको कथाहरू सुनाउनुभयो। अर्को होनहार थियो, उसलाई पाखा लगाइयो भन्नुभयो। विकासका उहाँका सोच बताउनुभयो। एक घन्टा बित्यो। तल त्यत्रा मान्छेलाई कुराएर मैले नै उहाँको एक घन्टा सिध्याइदिएँ भनेर मनमनै नरमाइलो लागिरह्यो। एक घन्टा नाघेपछि निजी सचिवले घरीघरी ढोका उघार्दै हेर्दै गर्न लागे। समय बढी भएछ कि भन्ने उहाँलाई पनि लाग्यो होला, त्यो मन्त्रीसँग सतर्क हुनुहोला है भनेर मलाई विदा गर्नुभो।

कार्यकालको सुरुआती अवस्थामा सुरेन्द्र पाण्डेका बारेमा जुन किसिमको चर्चा बाहिर हुन्थ्यो, त्योभन्दा चर्को चर्चा सायद उहाँको पार्टीभित्र हुन्थ्यो। तर, त्यसविपरीत आर्थिक सूचना तथा परिसूचकहरू तत्काल बुझ्न र सटिक विश्लेषण गर्न उहाँ अरूभन्दा कम हुनुहुन्नथ्यो। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विदेशी अर्थमन्त्रीहरूसँग नेपालसँग सम्बन्धित आर्थिक विषयहरू र आर्थिक परिसूचकहरूको विश्लेषण तथा छलफल गर्दा पछाडि बसेर सचिवले वा अरू कसैले उहाँलाई सहयोग गर्नु परेन।

अरु कसैको प्रत्यक्ष सहयोगबिना आर्थिक विश्लेषण गर्न सक्ने, अर्थतन्त्रका चुनौती र सम्भावनाबारे उपयुक्त दृष्टिकोण तथा सोच निर्माण गर्न सक्ने र विकासका आयामहरू राम्रोसँग बुझेका अर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी र रामशरण महतअन्तर्गत काम गरेपछि सुरेन्द्र पाण्डेसँग काम गर्दा मलाई कुनै फरक महसुस भएन।

यो मेरो मात्र धारणा होइन। नेपालको अर्थतन्त्र र आर्थिक गतिविधिको विश्लेषण गर्न आउने वैदेशिक दातृ निकायका प्रतिनिधिले भेट्न खोज्ने र अन्तर्क्रियामा बोलाउने सीमित पूर्वअर्थमन्त्रीहरूमा सुरेन्द्र पाण्डे पर्नुहुन्छ। बाबुराम भट्टराईको पहिचान पूर्व अर्थमन्त्रीको मात्र नभएर, पूर्व प्रधानमन्त्री र अर्थतन्त्रका गतिविधिहरूमा चासो राख्ने व्यक्तिका रुपमा भएकाले राजनीतिमा उहाँको स्थान र अडान जस्तो भए पनि आर्थिक विषयमा हुने छलफलमा उहाँका विचार सुन्ने धेरै छन्।

नेकपा माओवादीले (हाल, माओवादी केन्द्र) भट्टराईपछि दुई जना अर्थमन्त्री बनायो। दुवैको प्राज्ञिक पृष्ठभूमि र राजनीतिक सक्रियता अर्थतन्त्रसँग सम्बन्धित थिएन। यसबीच नेकपा एमाले र नेपाली कांग्रेसले माओवादी केन्द्रले जस्तै अलग्गै पृष्ठभूमि भएकालाई अर्थमन्त्री बनायो।

माथि उल्लेख गरिएका अस्ट्रेलियाका पल किटिङका बारेमा पछिसम्म पनि उनी सफल अर्थमन्त्री हुन् कि होइनन् भनेर अस्ट्रेलियाका छापाहरूमा लेख प्रकाशन भैरहन्छन्। उनका बारेमा प्राय: सबैको विश्लेषण हुन्छ— उनी तीक्ष्ण ‘इकोनोमिक इन्स्टिन्क्ट’ (आर्थिक सुझबुझ) भएका मान्छे थिए। कस्तो आर्थिक नीति लिँदा ठिक हुन्छ भनेर खुट्याउन सक्ने अद्भूत खुबी उनीसँग थियो। र, उनी आफ्नो निर्णयमा अडिग रहन्थे। मुलुकको अर्थतन्त्रलाइ हानी हुने विषय छ भने मन्त्रिपरिषद्का अरू सदस्यको मात्र होइन, प्रधानमन्त्रीलाई पनि उनी टेर्दैनथे।

नेपालको सन्दर्भमा अर्थमन्त्री, अरू मन्त्रालयको मन्त्रीजस्तो सामान्य होइन। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक, एसियाली इन्फ्रास्ट्रक्चर बैंकको बोर्ड अफ गभर्नरको सदस्य हो। यी यस्ता निकाय हुन् जहाँ आर्थिक विषय सरल भाषामा कुरा हुँदैनन्। ठेट अर्थशास्त्रीय शब्द, संक्षेपीकरण गरिएका शब्दको धाराप्रवाह प्रयोग हुन्छ। तीव्र गतिमा बोल्छन् र उत्तिकै तीव्र गतिमा जवाफ फर्काउनुपर्ने हुन्छ। हामीमाथि असर पर्ने अन्तर्राष्ट्रिय आर्थिक नीतिहरूका बारेमा तत्काल राय दिनुपर्ने हुन्छ।

मुलुकभित्र पनि सल्लाहकारहरूले दिएको सल्लाहमध्ये कुन ठिक छुट्याउने खुबी आवश्यक पर्छ। अर्थात्, किटिङकै जस्तो ‘इकोनोमिक इन्स्टिन्क्ट’ आवश्यक पर्छ। यो सब गर्न सक्ने खुबी एक जमानामा पढेको अर्थशास्त्रले मात्र पुग्दैन। अर्थशास्त्र आफैंमा एकदम गतिशील विधा हो। हिजो जुन नीतिहरू ठीक थिए, आज तिनै नकाम हुन्छन्। त्यसै पनि ‘काउन्टर-साइक्लिकल’ आर्थिक प्रबन्धहरू अवस्था सामान्य हुँदा पूरै उल्ट्याउनुपर्ने हुन्छ।

गैर-अर्थशास्त्रीहरूलाई अर्थमन्त्री बनाइँदा अहिले र विगतका वर्षहरूमा व्यक्त चिन्ताको एउटा प्रमुख पाटो भनेको पार्टीका लागि रकमको जोहो गर्ने पदका रुपमा अर्थमन्त्रीको पदलाई विकास गर्न खोजियो कि भन्ने हो। स्थिति पनि यस्तै देखिन्छ।

नेपालका व्यवसायीहरू, विदेशी लगानीकर्ताहरू र वैदेशिक दातृ निकायका प्रतिनिधिहरूले अनौपचारिक कुराकानी गर्दा ‘खै मन्त्रीले कुरै बुझ्दैनन् कि जस्तो लाग्छ’ भनेर व्यक्त गर्नुले पनि त्यही संकेत गर्छ।

वर्तमान अर्थमन्त्रीलाई यो आशंका तोड्ने अवसर छ। आफ्नो निर्वाचन क्षेत्रले सधैं पराजय मात्र दिएको हुँदा, कृतज्ञता दर्साउन निर्वाचन क्षेत्रको लाभका लागि अनुचित काम वा निर्णय गर्नुपर्ने बाध्यता छैन। र, नेपाली कांग्रेसभित्र अर्थशास्त्र पढेका र अर्थतन्त्र बुझेकाहरू भन्दा काबिल अर्को पनि छ है भनेर प्रमाणित गर्नु पनि छ।

(लेखक पूर्व अर्थसचिव हुन्।)

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार