सर्लाही, २९ जेठ – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले दोश्रो चरणको चुनाव जुनसुकै हालतमा पनि असार १४ मा नै हुने बताए । उनले भने,‘चुनाव सार्दै जाँदा जनतामा अन्यौलता बढेका छ । त्यसकारण सरकारले चुनाव सार्नुभन्दा पनि चुनाव सफल बनाउने तर्फ लाग्नुपर्छ ।’

उनले निर्वाचन आयोगले पार्टी दर्ता र चुनाव चिन्ह रोकेका कारण राजपा चुनावबाट पछि हटेको बताए । उनले भने, ‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन् ।’
यादवले राजपको आन्दोलनले चुनावमा खासै प्रभाव नपर्ने बताए । यादवले भने,‘चुनाव जनताका लागि आवश्यक छ । कसैको आन्दोलने चुनाव प्रभावित हुदैन।’ चुनाव भए स्थानीय सत्ताले शक्तिपाउने , नभए देश र मधेशका जनताले नोक्सान भोग्ने पर्ने भएकाले चुनावमा जानु आवश्यक रहेको यादवले बताए ।
उनले लोकतन्त्रको लागि लामो लडाई लडेको लोकतन्त्र, संघीयता, स्थानीय स्वयत्ता, प्रादेशिक संरचना आफुहरुकै आन्दोलको उलब्धि भएकाले यसलाई संस्थागत गर्न र प्राप्त उपलब्धिको रक्षागर्न पनि चुनाव आवश्यक रहेकोसमेत बताए।,