राजपासंग निर्णायक वार्ता गर्दै प्रमुख दलः चुनाव सार्ने/नसार्ने निर्णय हुने

काठमाडौं, ३१ जेठ –निर्वाचन विरोधी गतिविधीमा सकृय बनेको मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा)संग प्रमुख राजनीतिक दलहरुले आज (बुधबार) निर्णायक वार्ता गर्ने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको १६ दिन अघि राजपाले सुरु गरेको आम हड्ताल सहितको निर्वाचन विरुद्धका अभियान पछि प्रधानमन्त्रीको अगुवाईमा प्रमुख दल र राजपाबीच वार्ता हुन लागेको हो।

आजको बैठकबाट वार वा पारको निर्णय पुग्ने दलहरुको तयारी छ । बैठकमा राजपाले प्रस्ताव गरेअनुसार २ र ५ नम्बर प्रदेशको चुनाव सार्ने विषयमा गम्भिर छलफल हुने एक नेताले बताए । यी दुई प्रदेशको चुनाव सार्दा राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए चुनाव सार्न सरकार र प्रमुख दलहरु सहमत हुनसक्ने स्रोतको दावी छ ।

राजपाले लिखित सहमति जनाएर निर्वाचनमा भाग लिन्छ भने उसले उठाएका राजनीतिक मुद्दाको संबोधन गर्न र निर्वाचन पछि संविधान संशोधन गर्न सत्ता पक्षदल तयार भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । उनले सकेसम्म चुनाव नसारी सहमतीको विन्दु पहिल्याउने कोशिस हुने बताए ।

अब पनि निर्वाचन सार्दा गलत सन्देश जाने भएकाले सकेसम्म निर्वाचन मिति नसारी राजपाले उठाएका राजनीतिक विषयको संबोधनका लागि पहल हुने सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। मौसमका हिसावले पनि अब निर्वाचन सार्न सम्भव नभएको उनको भनाइ छ ।

चुनाव सार्ने विषयमा विपक्षी दल एमाले भने असहमत देखिएको छ । जसले नचाहिने माग राखेर आन्दोलन गरिरहेको छ, उसकै पछि दौडेर चुनाव सार्न खोज्नु गलत हुने एमाले अध्यक्ष केपीको दावी छ । चुनावको मिति नसारी राजपाको माग सम्बोधनका लागि सरकारले कसरत गर्नु पर्ने उनको भनाइ छ ।

यद्यपी आजको बैठकमा चुनाव सार्ने वा राजपालाई छाडेर चुनावमा जाने भन्ने विषयमा अन्तिम निर्णय हुने एक नेताले बताए । ती नेताका अनुसार सम्भवत २ र ५ नम्बर प्रदेशको चुनाव सर्न सक्ने सम्भावना बलियो छ । राजपाका नेताहरु पनि मिति सारे चुनावमा भाग लिने बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार