दुर्इ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन हुने, तीन वटा प्रदेशमा असार १४ मै हुने

प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव

काठमाडौं, १ असार – प्रमुख दल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुर्इ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने सहमति भएको छ । उम्मेदवारीको मनोनय दर्ता गराउने ठिक अघिल्लो दिन बिहीबार प्रमुख दलहरुले राजपासँग गरेको वार्तामा २ नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने र भोलि शुक्रबार हुने उम्मेदवारी दर्ता कार्यक्रम पनि केही दिन पछि सार्ने सहमति हो ।

बाँकी रहेको १,५ र ७ नम्बर प्रदेशमा भने असार १४ मा नै निर्वाचन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताइन् । राजपाको सहभागितालार्इ सुनिश्चित गर्ने सर्तमा दुर्इ नम्बर प्रदेशको चुनाव सारिएको प्रवक्ता भुसालले बताइन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र राजपाका अध्यक्ष मण्डल लगायत चारै पक्षका नेताहरुको उपस्थिति थियो ।

निर्वाचन आयोगसँग सरकारले आजै (बिहीबार) ३ बजे निर्वाचनको नयाँ कार्यतालिका र तेस्रो चरणको निर्वाचन विषयमा छलफल गर्ने जनाइएको छ । निर्वाचन विथोल्ने गरि आन्दोलन घोषणा गरेको मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी (राजपा) लाई सहमतीमा ल्याउन सरकारले तेस्रो चरणमा निर्वाचन गराउने सहमति गरेको हो ।

उता निर्वाचन आयोगले भने असार १४ को चुनाव सारिए फेरी राजनीतिक दुर्घटना निम्तिने बताइसकेको छ । प्राविधिक रुपमा असार १४ मा बाँकी रहेका सम्पूर्ण जिल्लामा एकसाथ चुनाव गराउन सकिने गरी तयारी अन्तिम चरणमा पुगेको सरकार छलफल गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका हुन् ।

आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार