काठमाडौं, २ असार –निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणमा असोज १४ गते गर्ने भनिएको निर्वाचन तालिका संशोधन गरेको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीसँगको सहमतिअनुसार सरकारले निर्वाचन तालिका संशोधन गर्ने तथा दोस्रो चरणमा गर्ने भनिएको २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने प्रस्ताव गरेको थियो ।
मन्त्रिपरिषद्को प्रस्ताव अनुमोदन गर्दै निर्वाचन आयोगले १, ५ र ७ नम्बर प्रदेशमा १४ गते नै निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका संशोधन गरेको छ । सशोधित कार्यतालिकाअनुसार असार १४ हुने निर्वाचनका लागि असार ४ गते उम्मेदवार मनोनयन दर्ता रहेको छ ।
यसअघि आयोगले असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता सुरु गरी असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने गरी तालिका प्रकाशित गरेको थियो । प्रदेश नं. २ को निर्वाचन तेस्रो चरणमा २०७४ असोज २ गते गर्ने सरकारको निर्णय भएकोले सो क्षेत्रको निर्वाचन कार्यक्रम हाललाई स्थगित गरिएको आयोगले जनाएको छ ।
आयोगको विहीबार बसेको बैठकले सरकारको निर्णयअनुसार निर्वाचन सम्बन्धि संशोधित कार्यक्रम स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि पूर्वनिर्धारित मिति असार १४ को सट्टा असोज २ गते निर्वाचन सम्पन्न गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ ।
संशोधित निर्वाचन कार्यतालिकाअनुसार प्रदेश नं. १, ५ र ७ का गाउँपालिका/नगरपालिकामा असार ०४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेदेखि तथा असार ६ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।