कतारमा नेपालीलाई समस्या छैन, सम्पूर्ण ध्यान कतारमा लगाएका छौं– मन्सुर

काठमाडौं, २ असार – श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् ।

बिहीबार उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच हरेक दिन कतारको पछिल्लो अवस्थाको अपडेट लिने र अब चाल्नुपर्ने कदमका विषयमा छलफल जारी छ ।

त्यहाँको अवस्था सामान्य छ, तत्काल कुनै निर्णय दिनुपर्ने अवस्था छैन ।’ नेपाल सरकारको सम्पूर्ण ध्यान अहिले कतारमै रहेकोसमेत उनले बताए ।

सबै निकाय तयारी अवस्थामा 
मन्त्री मन्सुरका अनुसार अहिले कतारस्थित नेपाली दूतावास, त्यहाँ कार्यरत श्रमसहचारीलगायत निकायबाट हरेक अवस्थाको अपडेट लिने काम भइरहेको छ ।

मन्त्रालयमातहतका निकाय र नेपाल सरकारका अन्य सरोकारवाला निकायलाई कतारमा कामदारबारे आउन सक्ने सम्भावित समस्याबारे तयारी अवस्थामा रहन आग्रह गरेको उनले जानकारी दिए ।

जारी छ श्रम स्वीकृति
नेपालबाट कतारका लागि श्रम स्वीकृति लिने युवाको क्रम अहिले पनि जारी छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार पछिल्लो समय श्रम स्वीकृति लिने युवाको संख्या सामान्य घटे पनि यसको ठोस कारण भने अहिल्यै भन्न सकिने अवस्था छैन ।

‘रमजानको बेला अघिल्ला वर्षमा पनि श्रम स्वीकृति घट्ने भएकाले कतारको कूटनीतिक संकटकै असर हो भन्न सकिन्न,’ उनी भन्छन् ।

श्रम स्वीकृति लिने कति युवा विदेश गए भन्ने तथ्यांक श्रम तथा रोजगार मन्त्रालयमातहतका कुनै निकायसँग छैनन्, जसले गर्दा कतार जाने कामदार घटे या बढे भन्ने यकिन भन्न सकिँदैन ।

कतारमा कामदारको माग घटेको छैनः व्यवसायी 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अहिले पनि कतारमा कामदारको माग घटेको छैन । ‘कतारमा कामदारको माग सामान्य अवस्थाकै बराबरी छ,’ संघका अध्यक्ष विनोदप्रसाद ढकाल भन्छन्, ‘हामी त्यहाँस्थित रोजगारदाता कम्पनीसँग सम्पर्कमा छौँ ।’ – नयाँपत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार