काठमाडौं, ३ असार – भारतको दार्जिलिङमा केही दिनयतादेखिको आन्दोलन उग्र बन्दै गएको छ । गोर्खाल्याण्ड आन्दोलन नियन्त्रण गर्ने क्रममा सेनाले चलाएको गोली लागि तीन जनाको मृत्यु भएको छ ।
शनिवार प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए । आन्दोलनकारीले सुरक्षाकर्मीको गाडीसमेत जलाइदिएपछि स्थिति झनै तनावग्रस्त बनेको थियो । गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा सुरक्षाकर्मीले छापा मारेपछि प्रदर्शनकारी प्रतिकारमा उत्रिएका हुन् । प्रदर्शनकारी सुरक्षाकर्मीमाथि नै आक्रमणमा उत्रिएको भन्दै राज्य सरकारले शनिवार सेनालाई सडकमा उतारेको थियो ।
प्रदर्शनमा उत्रिएका गोर्खाल्याण्डसमर्थक मोर्चा कार्यकर्ता र सुरक्षाकर्मीबीच शनिवार दिनभरी नै झडप भएको थियो । सेनाको गोलीबाट विमल शाहशंकर र सुनिल राई र महेश गुरुङको मृत्यु भएको मोर्चाले जनाएको छ । सुरक्षाकर्मीले भने प्रदर्शनकारीको मृत्युबारे पुष्टी गरेको छैन ।
घटनामा सुरक्षाकर्मीतर्फ पनि हताहती भएको बताइएको छ । बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले आन्दोलनकारीले सुरक्षाकर्मीमाथि नै आक्रमण भएको भन्दै आक्रोश ब्यक्त गरेकी छन् । उनले आन्दोलनकारीको खुकुरी प्रहार गरी आइआरवी कमान्डेन्ड किरण तामाङलाई सख्त घाइते बनाएको जनाएकी छन् ।