पुस्तक

विशेस्वर प्रसाद काेइराला

कोशीको बाढीले एउटा जिल्ला जम्मै बगायो । मानिसहरू कति बगे, कति भोकभोकै मरे । रोगव्याधि फिँजियो । ती असहायको सहायताका लागि सरकारबाट मद्दत पुग्यो र अरू संस्थाहरूले पनि स्वयंसेवक पठाए । म पनि स्वयंसेवकको दल लिएर एउटा गाउँमा पुगें । साथमा कुइनेन, क्लोरोडाइन, पोटास पर्मेगनेट इत्यादि औषधि थिए ।

बनारसबाट हिँड्दा हामीले सारा प्लान छलफल गरिसकेका थियौं । एउटा इलाकामा पुगेर त्यहाँका गाउँ-गाउँमा गई औषधि बाँड्ने प्रत्येकले आफूलाई चाहिने कुरा लिएर हिँड्नुपर्थ्यो । मैले औषधि त लिएँ-लिएँ, झूल पनि बोकें । तर, दुर्भाग्यवश पुस्तक लिन बिर्सेछु ।

इलाकाको इलाका पानीमा थियो । पानीबाट माथि उठेका झारहरूमा फट्याङ्ग्रा, कमिला र अरू स-साना कीराले आश्रय लिएका थिए । एक‍-दुई नडुबेका अग्ला ठाउँमा लोग्ने मानिस, स्वास्नी मानिस, बालकबालिका कमिलैसरह स्याउँस्याउँती थिए । रोग र भोकले व्याकुल ती किसानहरू उभिन नसकेर त्यसै जथाभावी लडिरहेका थिए– चितामा सुतेका जस्ता । तिनीहरूमध्ये कतिले सुत्तासुत्तै अन्तिम सास फेरिसकेका थिए तर नजिकै टाँसिएर सुतेका अरू अझै बाँचिरहेकालाई यो कुरा थाहै थिएन । एउटा बान्ता गर्दागर्दै पानीनेर मुन्टो गाडेर पछारियो । बेला-बेलामा मर्नुभन्दा पहिले निर्धक्क भएर चिच्याएको कुकुरजस्तो क्रन्दन सुनिन्थ्यो । यो त मैले त्यो ठाउँको वर्णन गरें, जुन ठाउँ बाढीको सबभन्दा ठूलो प्रकोपमा परेको थियो । सरकारी विज्ञप्तिमा यो ठाउँमा १० हजार मान्छे मरेको सूचना थियो ।

हामीले यसैलाई आफ्नो क्षेत्र छान्यौं । यही ठाउँमा कम्मर कसेर काममा लाग्यौं । हाम्रो मुख्य काम थियो- मरिसकेकाका लागि संस्कारको प्रबन्ध गर्नु, बाँचेकाको पेटमा अन्न पार्नु र रोगीलाई औषधि र पथ्य दिनु । मरिसकेकालाई हामीले छुट्ट्यायौं । बाँचेका मध्ये पनि रोगी र निरोगीलाई छुट्ट्यायौं । नजिकैको गाउँसम्म बोकेर लैजान सक्नेलाई बोकेर पुर्‍यायौं र त्यहीँ उसको खाने र औषधि प्रबन्ध गर्‍यौं । अरूलाई त्यहीँ बाँधमै खानेकुरा पुर्‍याउन थाल्यौं । धेरैलाई यसरी बचायौं भन्ने विश्वासले हामी दिन-रात केही नमानेर भोक-तिर्खाको वास्ता नगरेर मिहिनेत गरिरह्यौं ।

बिस्तारै त्यस ढिस्काबाट अन्तिम मान्छेलाई लग्यौं । बाढी पनि कम हुँदै गयो । पानीमा तीव्रता थिएन, थाकेर नजानिँदो हिँडाइले बगिरहेको थियो । पहिले गरेको उत्पातलाई बिर्सन सक्यौं भने अहिलेको पानीको दृश्य रमाइलो नै थियो– कुनै ताल जस्तो । हामीहरूको काम पनि सिद्धियो, हाम्रो जाने बखत भयो । यत्रो मिचामिचमछि अहिलेको शान्तिले हामीलाई उद्विग्न पार्‍यो । केही काम थिएन । काम नपाएर बस्ता असाध्य गाह्रो हुँदो रहेछ । मेरा साथीहरू धेरै फर्किसकेका थीए । अरूचाहिँ अरू-अरू गाउँमा छापछाप्ती थिए ।

म अहिले एक्लै यो सानो गाउँमा थिएँ । दुई-तीन दिनमा सारा साथीहरू यहीँ भेला हुन्छन्, अनि सँगसँगै फर्कने निश्वय भएको थियो । म काम नपाएर त्यसै बसिरहेको थिएँ । गाउँमा एक प्रकारको शान्ति हुन्छ, जसले हामीजस्ता शहरियाहरूको मस्तिष्क र हृदयमा गह्रौं भएर थिच्छ । एउटा चरो यताउति यो हाँगोदेखि ऊ हाँगो गरिरहेको थियो । यसले एकान्तको भीषणता झन् थपिदिन्थ्यो ।

म एउटा बूढो खेतालाको अतिथि थिएँ । जामुनाको बोटमुनि डोरीको खाट हालेको थियो, त्यसैमा पल्टेर म दिन काट्ने प्रयत्न गरिरहेको थिएँ । आफ्नो कृतज्ञता प्रकट गर्न त्यो बूढो उठ्यो, हात जोड्यो र उभिरह्यो ।

“मैले केही गर्न सकिनँ,” भनेर त्यो आएर ठिङ्ग उभियो, “बाढीले भएका गाईबस्तुहरू बगाएर लग्यो । दूधदही केही छैन ।” मैले त्यसको सोझो आतिथ्यले गदगद भएर भनें, “बूढा, तिमीले मलाई आफ्नो आतिथ्यले सधैंको निम्ति ऋणी पार्‍यौ । मलाई सबै कुरा पुगेको छ ।”

त्यो बुढो किन मान्थ्यो, “यो गाउँ त्यति गरिब त होइन, बाबु ! यो बाढीले सब कुरा बगाएर लग्यो, नत्र कसैलाई एक पेट खान र आए-गएकालाई खुवाउन पुगेको थियो । मैरै दूध दिने दुइटा गाई बगेर गए । मलाई आफूलाई के चाहिएको थियो र, बुढो भएँ, मर्ने बखत भयो । आए-गएकालाई गर्न नसक्ता दु:ख हुन्छ । ऊ छँदा सह थियो, त्यो पनि मरेर गई ।”

बूढो चुप्प लाग्यो । मैले कुहिनाले टेकेर यसो आफ्नो टाउको उठाएर त्यसलाई हेरिरहें । त्यो बूढो बिस्तारै आफ्नो छाप्रोपट्टि लाग्यो र एकछिनपछि छाप्राका दैलामा आएर बस्यो । म फेरि उँधोमुन्टो लाएर जामुनाका पात गन्न थालें । अल्छी लागिरहेको थियो । हाई-हाई आउँथ्यो ।

आज बेलुकासम्म एक‍-दुई साथी आइपुग्छन् क्यारे । टाढासम्म जहाँ दृष्टि पुग्थ्यो, एकनास पानी थियो । सूर्यको प्रकाश त्यसमा टलमल टलमल गरिरहेको थियो, असाध्य पटाइलाग्दो । मैले पुस्तक ल्याउन बिर्सेछु, नत्र समय सजिलैसँग काटिन्थ्यो । कहिलेकाहीँ घरको सम्झना हुन्छ ।

त्यो बूढो एक्लै छाप्रोको दैलैनेर टुक्रुक्क बसेर एकनासले एकातिर हेरिरहेको थियो । मेरो बानी- जहाँ हिँड्दा पनि एक-दुई पुस्तक बोक्ने छ । यसपाला बिर्सेछु । रोम्याँ रोलाँको जीन क्राइस्टोफर पढ्ने इच्छा थियो । एक-दुई अध्याय पढी पनि सकेको थिएँ । आजकाल त्यो पुस्तकको खूप नाम छ । पुस्तक सम्झेर म झन् छटपट गर्न थालें । अब झन् समय बिताउन गाह्रो भयो । कुनै पुस्तक भए पनि यसो अक्षर हेरेर समय काट्दो हुँ । यहाँ मूर्ख देहातमा के पुस्तक पाइन्थ्यो ! म कहिले उठ्थें, कहिले बस्थें र कहिले निश्चल भएर सुत्थें । बूढाले धेरै बेरसम्म मलाई हेरिरह्यो । मेरो छटपटी थाहा पाएर त्यो फेरि मनेर आयो र उभियो ।

मैले भनें, “बूढा, कसरी दिन काट्ने ?”

बूढाले भन्यो, “खोइ ! केही काम छैन । डुल्न जाऊँ भने चारैतिर पानी नै पानी छ, नत्र यहाँ डुल्न त खूब रमाइलो ठाउँ थियो । ऊ त्यो सल्लाको रूखनेर पोखरी थियो ।”

मैले भनें, “पुस्तक भए पनि बसी-बसी पढिरहने थिएँ ।” बूढाको अनुहार उज्यालो भयो, “एउटा पोस्तक त मसँग छ । हरिहरले मर्ने साल कहाँबाट लिएर आएको थियो ।”

त्यो पुस्तक लिन छाप्रोभित्र पस्यो । मेरो अलिक उत्साह बढ्यो । राम्रो पुस्तकको त मैले आशा नै गरेको थिइन तर कुनै साधारण कथाको पुस्तक भए पनि अक्षर त हेर्न पाइन्थ्यो । साँझसम्म कोही साथी पनि आइपुग्लान् ।

कालो ध्वाँसो लागेको पुस्तकाकारको एउटा कुरो लिएर त्यो बूढो मनेर आयो । मलाई त्यो कुरो दिँदै भन्न थाल्यो, “हरिहर, मेरो छोरोले मर्ने साल यो लिएर आएको थियो । त्यो बडो बाठो थियो । पुस्तक पढ्थ्यो । जैले पनि यसैलाई हेरिरहन्थ्यो । मलाई त्यसको धेरै आशा थियो । दैवले चटक्क चुँडेर लगे । मैले त्यसको मायाले यसलाई छानामा घुसारी राखेको थिएँ । आज छोराले ल्याएको काम लाग्यो ।”

बूढाले हात जोरेर भनिरह्यो । म मुन्टो गाडेर त्यसले ल्याएको पुस्तकलाई हेरिरहेको थिएँ । डाक्टर एस. के. बर्म्मन (डाबर) को १९२६ सालको सूचीपत्र थियो । दमका निमित्त श्वासारी, मलेरियाको निमित्त जूडीताप …. ।

newyear-RBB

newyear-RBB
http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार