विप्लव माओवादी पनि चुनावमा, कांग्रेससँग पो गठवन्धन !

रोल्पा, ५ असार – नेकपाको नेतृत्वले चुनाव ‘खारेजी’ गर्ने नीति ल्याएपनि रोल्पाको थबाङ गाउँपालिकाका नेकपाका निकट नेता र कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । थबाङलाई विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको प्रभावका कारण सुरक्षा संवेदनशील मानिएको छ । सुरक्षा संवेदनशिल ठाउँमै उम्मेदवारी दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको हो ।

स्थानीय तहको निर्वाचन ‘खारेजी’ को नीति लिएको नेकपाका कारण थबाङमा मनोनयन दर्ता कस्तो हुन्छ भन्ने सबैमा चासो हुँदै गर्दा शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थबाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा निकट जन स्वयंसेवक दलका जिम्मेवार अगुवा अमित घर्तीले गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका छैनन् ।

नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि श्रीकुमारी रोकामगरले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतले जनाए । कांग्रेसबाट अध्यक्ष पदमा कोही उम्मेदवार बनेनन् । स्वतन्त्रमा उपाध्यक्ष नउठाइनु र कांग्रेसबाट अध्यक्ष उम्मेदवार नबनाइनु संयोग होईन ।

स्रोतका अनुसार स्वतन्त्रका अध्यक्ष र कांग्रेसबीच अघोषित सहमति भएको छ । गोप्य योजना अनुसार नै स्वतन्त्रबाट उपाध्यक्ष र कांग्रसबाट अध्यक्ष उम्मेदवार नबनाइएको हो ।नेकपा एमालेबाट अध्यक्षमा हितबहादुर रोकामगर र उपाध्यक्षमा जान रोकामगरले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट वीरबहादुर घर्ती अध्यक्ष र रामकिरणी रोका उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

स्वतन्त्रबाटै भक्तबहादु घर्ती पनि अध्यक्षको उम्मेदवारी दिएका छन् । एमाले र माओवादी केन्द्रले गाउँपालिका देखि वडा सबै पदमा उम्मेदवार खडा गरेका छन् । पाँच वटा वडा रहेको थबाङ गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुमा भने स्वतन्त्र र कांग्रेसबाट अलगअलग उम्मेदवार दर्ता गरिएको छ । – अन्नपूर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार