प्रधानन्यायाधीश सिफारिसमा एमाले तगारो बनिरहे यसरी टुंगिन्छ विवाद

काठमाडौं, ६ असार – संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन ।

प्रतिपक्षी दलका नेताले अध्ययन गर्न समय मागेपछि बैठकमा कुनै निर्णय नभएको बताउँदै उपसभामुख गंगाप्रसाद यादवले अर्काे बैठक यही असार १५ गते बस्ने जानकारी दिए ।

सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन् । दोस्रो बैठकमा पनि सहमति नजुटे बहुमतीय प्रणालीबाट प्रधानन्यायाधीश नियुक्ति गर्न सक्ने प्रावधान रहेको उनले बताइन् ।

संवैधानिक परिषदमा प्रायः सहमतिका आधारमा नियुक्ति भइरहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा परिषदमा कानून तथा न्याय मन्त्री सदस्यका रुपमा रहने प्रावधान छ । –नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार