असार, काठमाडौं । असार १४ गते चुनाव हुन लागेका जिल्लाहरुका अन्तरदेशीय सीमा नाकाहरु आजबाट बन्द गरिएको छ । चुनावमा हुनसक्ने सम्भावित घटना रोक्ने उद्देश्यले भारत र चीनसँग जोडिएका सीमा नाकाहरु बन्द गरिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता दीपक काफ्लेले अनलाइनखबरसँग भने, ‘सीमा जोडिएका दुबै देशको सुरक्षा चुनौति के कस्तो छ त्यसको विश्लेषण गरेर आजबाट नाकाहरु सिल भएको छ ।’
काफ्लेका अनुसार कुनै जिल्लामा दुई दिन र कुनै जिल्लामा तीन दिन नाका बन्द गरिएको छ ।
‘स्थानीय प्रहरी प्रशासनले आफ्नो समकक्षीहरुसँग बैठक बसेर कसैले दुई दिन कसैले तीन दिन बन्द गर्नुभाछ । सामान्तया हामीले तीन दिन भनेका छौं ।’
आजबाट बन्द गरिएका सीमानाकाहरु चुनावपछि मात्रै खुल्नेछन् । चुनाव नहुने जिल्लाहरुका सीमा नाकाहरु भने बन्द नगरिएको गृह मन्त्रालयका प्रवक्ता काफ्लेले बताए ।
आपराधिक घटना हुन नदिने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने नेपाल र भारतका अधिकारीहरुबीच सहमति भएको छ ।