काठमाडौं, असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने निर्णय गरेको छ । आयोगले बुधवार यस्तो निर्णय गरेको हो ।
‘हालसम्म देखिएको अनुसन्धानको परिणामका आधारमा उनलाई ३ अर्ब रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सकिने निर्णय भएको छ,’ आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले लोकान्तरसँग भने ।
उक्त धरौटी तिरेर उनी थुनामुक्त भए पनि उनीमाथि थप अनुसन्धान चलिरहनेछ । ‘उनीमाथिको अनुसन्धान सकिएको छैन,’ सहप्रवक्ता रिजालले भने, ‘तत्काल ३ अर्ब रुपैर्या तिरे उनी थुनामुक्त हुनेछन् ।’ हालसम्म देखिएको अनुसन्धानको परिणामका आधारमा उक्त रकम धरौटी रकम किटान गरिएको अख्तियारले जनाएको छ ।
तत्कालिन कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा २१ अर्ब रुपैयाँ राजश्व मिनाहा दिएको भन्दै उक्त आयोगका एक सदस्य शर्मालाई गत जेठ १९ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी अख्तियारकै हिसासतमा छन् । आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल भने अझैसम्म फरार छन् ।