खोटाङ, १८ असार – रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा एमालेले पराजित गरेको छ ।
तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो ।
मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडाध्यक्षमा निर्वाचित भए । चार दल एकातिर लाग्दा पनि सो वडामा एमालेका चौहान, बलिरत्न राई, हरि चाम्लिङ, दिलशोभा राई र मसिनी दाहाल सार्कीको समूह विजयी भएको हो । सो वडामा कांग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्ति कांग्रेसको चुनाव चिह्न रुखबाट चुनाव लडेको थियो ।
माओवादी केन्द्र, सङ्घीय समाजवादी र नयाँ शक्तिले फरक पार्टीको चुनाव चिह्न देखाएर चुनावमा होमिएको विषयलाई चासोका साथ हेरिएको थियो । उम्मेदवार चौहानको घरमा असार ६ गते राति सुतली बम विस्फोट गराइएको थियो ।
विस्फोटमा चौहानकी बुहारी घाइते भएका थिए । उम्मेदवारको घरमा बम विस्फोट भएपछि जिल्लावासीमा ध्यान झनै चिउरीडाँडामा तानिएको थियो ।