पढ्नै पर्ने

यस वर्ष नागपञ्चमी र ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व एकै दिन

By onnnews

July 01, 2017

यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ ।

साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

साउन २३ गते सोमबार राति ११ बजेर ७ मिनेटमा खण्डग्रास चन्द्र ग्रहणले स्पर्श गर्नेछ । ग्रहणको मध्यराति १२ बजेर ६ मिनेटमा र मोक्ष राति १ बजेर चार मिनेटमा हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

“पूर्णिमाका दिन ग्रहण परी पर्व मनाउन नहुने अवस्थामा पञ्चमीकै दिन मनाउन सकिने व्यवस्था हेमाद्री, वीर मित्रोदय र निर्णय सिन्धुलगायत ग्रन्थमा छ, यसैले शास्त्रीय प्रमाणका आधारमा यो निर्णय गरिएको हो” – उनले भने ।

यसअघि २०२८ सालमा पनि पूर्णिमाका दिन चन्द्र ग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषि तर्पणी पर्व मनाइएको समिति सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।

असार २४ गते नै रक्षाबन्धन भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले आधिकारिक रुपमा साउन १३ गते नागपञ्चमीका दिन पर्व मनाउने निर्णय सर्वसम्मत रुपमा गरेको जानकारी दिएको छ ।