१७ वर्षीय युवती प्रयोग गरी व्यापारीको अपहरण, तेस्रो दिनमै हत्या

दाङ – अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ । गत २६ जेठको राति अपहरणमा परेका उनको हत्यामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेसँगै यस्तो तथ्य खुलेको हो ।
हत्याका अभियुक्तले दिएको सूचनाका आधारमा २१ दिनपछि शुक्रबार मात्र श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे रेन्जको जंगलमा फेला परेको थियो । प्रहरीले अभियुक्त पक्राउ परेको केही दिनअघिसम्म पनि श्रेष्ठको खोजीकार्य जारी रहेको बताउँदै आएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो । शुक्रबार हेलिकोप्टरमार्फत श्रेष्ठको शव सल्यानबाट दाङ ल्याइएको थियो ।
व्यवसायी श्रेष्ठलाई अपहरण गर्न तुल्सीपुर–६ बस्ने ४० वर्षीय टीकाराम घर्तीले आफ्नै १७ वर्षीया छोरी पूजा घर्तीलाई प्रयोग गरेको खुल्न आएको छ । -नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार