सप्तरीमा बाढीबाट डुबान

राजविराज, १८ असार – विगत दुई दिनदेखि अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले सप्तरीको एक दर्जन गाउँ डुबानमा परेको छ ।

साथै बाढीमा परेर सशस्त्र प्रहरी हबलदारको डुबेर मृत्यु भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी उपरीक्षक रामआधार यादवका अनुसार पिलाठीस्थित वेलही भन्सारमा खटिएका इलाम घर भएका सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको मृत्यु भएको हो ।

त्यस्तै बाढीले बगाएर ल्याएको सढेगलेको एक लास पनि फेला परेको प्रहरीले जनाएको छ । सप्तरीमा दुई दिन लगातार परेको अविरल वर्षाले खाडो, त्रियुगालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ डुबानमा परेको हो । बाढीबाट राजविराज नगरपालिका–९ र १० का साथै मैनाकरेरी, बसबिट्टी, पिलाठी, पिया, मुसरमिया, पिप्राही, रायपुर, लोनिया, रुपनी, पकरी र मलहनियालगायत गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गाउँमा बाढी पसेको कारण तीन फिट घरमा पानी पसेको छ । बाढीका कारण उक्त प्रभावित गाउँहरुमा लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन र भौतिक सामग्री नष्ट भएको पीडितहरुको गुनासो छ ।
उद्धार र राहतका लागि स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको र
बाढीमा फसेका ५०० भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग सुवेदीले बताउनुभयो ।
सो बाढीपीडित क्षेत्रमा उद्धार तथा राहतका लागि आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा छलफल कार्यक्रम राखिएको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार