कांग्रेस र माओवादीकाे मन्त्रालय भागबण्डा अन्तिम चरणमा

काठमाडौं, , २२ असार – सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत गरेका छन् । यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो ।

स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् ।  ‘सिंगो राप्रपाको समर्थन भए एमालेबाहेक दुई तिहाई समर्थन पुग्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘तर राप्रपाको भरोसा गरिहाल्ने स्थिति अझै बनिसकेको छैन ।’

गत वैशाख १७ गते संविधान संशोधन विधेयकमाथि मतदान गर्ने सरकारको तयारी भइरहेका बेला राप्रपाका दश सांसद् अनुपस्थित हुने जानकारी दिएपछि रोकिएको थियो । छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबाटै राप्रपा संविधान संशोधनमा एकजुट नहुने अवस्थामा सरकारमा ल्याउनुको औचित्व नहुने बताउँदै आएका छन् ।

तर, सत्ताघटक कांग्रेस र माओवादीले उपप्रधानमन्त्री विनाका ४ मन्त्रालय छुट्टाइएको जानकारी दिएका छन् । मन्त्रालय भागबण्डा टुंग्याउन कांग्रेस नेता विमलेन्द्र निधि, अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुनबीच विभिन्न मोडलमा छलफल भएका थिए ।

संघीय समाजवादी फोरम सरकारमा आउँदा वा नआउँदाको अवस्थामा कसरी मन्त्रालयको भागबण्डा गर्ने भन्नेबारे पनि छलफल भएको स्रोतले बतायो । –  कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार