काठमाडौं, २२ असार –उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न भारत आतुर रहेको बताएका छन् । हालै भारतको भ्रमण गरी स्वदेश फर्किएका मन्त्री महराले बुधवारको संसद बैठकमा सो कुराको जानकारी दिएका हुन् । बैठकमा उनले भारतमा भएका छलफलबारे पनि जानकारी गराएका थिए ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै देशका राजदूतहरुलाई तय गर्ने जिम्मेवारी दिइएको पनि स्पष्ट पारे । बैठकमा उनले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको बताएका छन् । परराष्ट्रमन्त्री महराले भारतले नेपालमा सञ्चालन गरेका परियोजनाहरु छिटो सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।
हालै भारतले जारी गरेको नयाँ कर नीतिका कारण नेपाली मालवाहक कण्टेनरहरु सीमावर्ती क्षेत्रमा रोकिएका सन्दर्भमा उनले यसको समाधानको लागि चाँडै नै सचिवस्तरीय बैठक बस्ने पनि जानकारी गराए । ‘भारतले एक साता अघि लागू गरेको नयाँ कर नीतिका कारण नेपाली मालवाहक कण्टेनरहरु सीमावर्ती क्षेत्रमा रोकिएका छन् भने राजस्व असुलीमा समेत समस्या देखिएको छ, ’ उनले भने ‘यसका लागि सचिवस्तरीय बैठक बस्ने सहमति भएको छ । ’ परराष्ट्रमन्त्री महराले आगामी अगष्टमा हुने विमस्टेक बैठकमा भाग लिन भारतीय विदेशमन्त्री स्वराज नेपाल आउने पनि जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री महरा भारतीय समकक्षी सुष्मा स्वराजको नियन्त्रणमा गत आइतवार भारत भम्रण गरेका थिए ।