काठमाडौं, २३ असार –प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा प्रेस स्वतन्त्रतालाई कानुनले मान्यता दिएको हुँदा अरु देशको तुलनामा नेपाली मिडियाले प्रेस स्वतन्त्रतामा बढी अभ्यास गरको बताएका छन् । पत्रकार डा.महेन्द्र बिष्टको पुस्तक नेपालमा प्रेस स्वतन्त्रता र सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाली प्रेसले धेरै उतार चढाव झेल्दै अघि बढेको स्मरण गरे ।
उनले मिडियामा काम गर्ने संचारकर्मीहरुले सत्य, तथ्य थाहा पाएर लेख्नुपर्नेमा जोड दिए । उनले भने–‘समाचार सत्य तथ्य नहुँदा अन्याय पनि हुन्छ कतिलाई, आफ्ना विचार, भावना जे पनि हुन सक्छन् तर समाचार सत्य तथ्यमा आधारित हुनुपर्छ ।’
उनले प्रेसले राष्ट्रिय एकतालाई कायम गर्न प्रेसले योगदान गर्नुपर्ने बताँउदै लोकतन्त्रको पर्याय नै प्रेस भएको उल्लेख गरे । लोकतन्त्र टिकाउन प्रेस स्वतन्त्रता हुनुपर्ने र लोकतन्त्रले नै स्वतन्त्र प्रेसको रक्षा गर्ने बताए ।
उनले आफ्नो अघिल्लो कार्यकालमा प्रेसको अवस्था कस्तो थियो पुस्तकमा पढ्ने उल्लेख गरे । उनले भने–‘मेरो अघिल्लो कार्यकालमा संकटकालका बेला पनि प्रेसलाई त्यति धेरै सेन्सरसीप गरेको थिइनँ, संकटकालका बेला प्रेसमा के के भएछ कितावमा पढ्छु ।’
पुस्तक विमाचोन समारोहमा टिप्पणीकर्ताको भूमिकामा बोल्दै प्राद्यापक पी. खरेलले बिष्टको विमोचित पुस्तक पत्रकार, मिडिया अनुसन्धानकर्ता र विद्यार्थीहरुका लागि गतिलो सन्दर्भग्रन्थ हुने टिप्पणी गरे ।
पुस्तकका लेखक बिष्टले आफूले बिद्यावारिधी गर्दाको बिषयलाई पुस्तकका रुपमा ल्याएको उल्लेख गर्दे प्राध्यापक खरेलले आफूले सो पुस्तकको सामग्री ३ पटक गरेर १ सय ५ घण्टा अध्ययन गरेको उल्लेख गरे ।
३ सय १५ पृष्ठ रहेको उक्त पुस्तकमा छ भाग रहेको र पुस्तकले पत्रकारीताको इतिहास, अवसर र चुनौतीहरुबारे अनुसन्धान गरेको उल्लेख गरे ।
यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार विष्टको पुस्तकमा कुनै ब्यक्तिगत आग्रह पूर्वाग्रह नरहेको उल्लेख गर्दै बेलायतको गिद्धे प्रेसदेखि डिजिटल पत्रकारितासम्मका विषयवस्तु समावेश गरेको उल्लेख गरे ।
उनले नेपालमा मिडिया कर्पोरेट हाउसको नियन्त्रणमा रहेको उल्लेख गर्दै मिडियाले निष्पक्ष रुपमा रुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । आफूले अदालतमा न्यायाधिसको रुपमा कार्य गर्दा समान्य कुरालाई मिडियाले ठूलो बनाउँने र ठूलो बिषयलाई पनि सामान्य बनाइदिएको उदाहरणहरु प्रस्तुत गर्दै मिडिया कर्पोरेट हाउसको नियन्त्रणमा रहेको अनुभुती गरेको उल्लेख गरे ।
मानवअधिकार र प्रेस स्वतन्त्रताबिच अन्योन्याश्रित सम्बन्ध बताउँदै पुस्तकमा प्रेस सम्बन्धी धेरै चिज उल्लेख रहेको बताए ।