साझा विवेकशीलको एकतापछि ‘विवेकशील साझा पार्टी’

काठमाडौं, १० साउन – आफूलाई वैकल्पिक शक्तिका रुपमा प्रस्तुत गर्दै आएका साझा पार्टी र विवेकशील नेपाली दल एक हुने भएका छ। एकताका लागि दुवैतर्फको नेतृत्वबीच समझदारी भइसकेको छ र एकताको घोषणा बुधबार हुनेछ।

पार्टी एकताको घोषणा बुधबार दिउँसो १ : ३० बजे नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा हुँदैछ। सामूहिक नेतृत्वको अवधारणाअनुसार अघि बढ्ने सहमतिअनुसार दुई राजनीतिक शक्त्तिबीच एकता हुँदैछ। एकतापछि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका संयोजक उज्‍जवल थापा दुवै सहसंयोजक हुनेछन्।एकतापछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

एक केन्द्रीय सदस्यका अनुसार महाधिवेशन गर्नुअघि पार्टी नेतृत्वका लागि दुई तहको तदर्थ संरचना बनाउने सहमति भएको छ। हाइकमान्डका रुपमा आठ सदस्यीय संयोजन समिति बन्‍नेछ । यसमा रविन्द्र मिश्र, उज्जवल थापा, मुमाराम खनाल, डा. सूर्यराज आचार्य, डा. गोविन्द नारायण तिमिल्सिना, रमेश पौडेल र दुईजना महिला प्रतिनिधि रहनेछन्। त्यसैगरी ३४ सदस्यीय केन्द्रीय समिति बनाउने सहमति भएको छ र यसमा दुवैतर्फबाट १७-१७ प्रतिनिधि रहनेछन्।

शुभेच्छुकहरुको दबाब र दुवै पक्षका नेताहरुको निरन्तरको संवादपछि एकता संभव भएको हो। एकतापछि बल्ल पार्टीको विधान, राजनीतिक प्रतिवेदन र घोषणापत्र तयार हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार