दोस्रो चरणको निर्वाचनमा ४१ प्रतिशत महिला विजयी

काठमाडौं, ११ साउन – स्थानीय तहको दोस्रो चरणमा भएको निर्वाचनबाट ४१ प्रतिशत महिला र ५८ प्रतिशत पुरुष निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार, यस निर्वाचनमा कुल १५ हजार नौ जना जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।

त्यसमा आठ हजार ८३२ जना (५८.८४ प्रतिशत) पुरुष र छ हजार १७७ जना (४१.१६ प्रतिशत) महिला निर्वाचित भएको निर्वाचन आयोगको सूचना प्रविधि व्यवस्थापन महाशाखाले जनाएको छ ।

गएको असार १६ गते १५ हजार ३८ पदका लागि भएको निर्वाचनमा ६२ हजार ४४३ उम्मेदवार चुनावी मैदानमा थिए । जम्मा दुई जना तेस्रो लिङ्गी उम्मेदवार भएकोमा कसैले विजय प्राप्त गर्न सकेनन् ।

कुल ३३४ पदका लागि भएको उपप्रमुख वा उपाध्यक्षको निर्वाचनमा पुरुष १९ जना र महिला ३१५ जना (९४ दशमलव ३१ प्रतिशत) निर्वाचित भएका छन् । तर, प्रमुख तथा अध्यक्षमा पदमा पुरुषको एकछत्र वर्चश्व देखिएको छ । सो पदमा एक प्रतिशत मात्रै महिला विजयी भएका छन्। नगरपालिकाको प्रमुखमा ११९ पदमध्ये एक जना मात्रै महिला निर्वाचित भएकी छन् भने २१५ गाउँपालिका अध्यक्षमा तीन जना महिला निर्वाचित भएका छन् । – गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार