काठमाडौं, ११ साउन – विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ ।
भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।
भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए ।
यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए ।
‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’ — अन्नपूर्ण पोष्ट दैनिक